खोपले मात्रै महामारीको अन्त्य नहुँने डब्ल्युएचओको भनाइ
काठमाडौ, मंसिर २ : संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि उच्च जोखिममा परेका छन् ।संक्रमण बढेपछि...
काठमाडौ, मंसिर २ : संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि उच्च जोखिममा परेका छन् ।
संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध लगाईएको छ । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गर्दा पनि संक्रमण दर भने घटेको छैन ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ९१ हजारभन्दा बढी संक्रमित भएका छन् ।
खोपले मात्रै पुग्दैन : डब्ल्युएचओ
विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, ‘खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो ।
यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’ टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताए ।
यसबाट सङ्क्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिएका छन् ।











