Kathmandu Press

सभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह

काठमाडौं, मंसिर १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना...
सभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह

काठमाडौं, मंसिर १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवत्को नयाँ वर्ष ११४१ को अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उनले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारको उदासीनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफैँ पनि सचेत र सजग हुन जरुरी रहेको उल्लेख गरेका हुन् ।

सन्देशमा उनले भनेका छन्, “नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो, हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ, तिहारले पनि हामी बीचको एकतालाई अझ मजबुत बनाएको छ ।” तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सभापति देउवाले शुभकामना सन्देशमा उल्लेख छ । 
 
यसैगरी वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ भन्दै सभापति देउबाले शुभकामना सन्देशमा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको उल्लेख गरेका छन् । नेपाल संवत्को नयाँ दिनले हरेक वर्ष सबैलाई यसका प्रणेता शङ्खधर साख्वाको योगदानलाई सम्झाउने बताउँदै सभापति देउवाले यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको उल्लेख गरे ।  

सभापति देउवाले अन्धकार विनाश गर्ने उज्यालोको पर्व तिहार र आफ्नै धरतीबाट उठेको नेपाल संवत्को नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल संवत्को नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति: १३:१९ बजे, सोमबार, मंसिर १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्