तिहारमा किन बिकेन्, पाल्पाली ढाका टोपी र झिनियाँ ?
काठमाडौं, मंसिर १ : नेपाली हिन्दूहरुको दोश्रो ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस...
काठमाडौं, मंसिर १ : नेपाली हिन्दूहरुको दोश्रो ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको सङ्ख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताईन् ।
अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा सामान किनमेल गर्नेको निकै घुइँचो हुने गर्दथ्यो । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि उपहारस्वरुप टोपी लगायतका विभिन्न उपहार किन्न फेन्सी पसलहरुमा भीडभाड हुन्थ्यो । यसपालि भने तिहारका लागि उपहार किन्न आउने ग्राहक कम रहेको व्यवसायीहरु बताउँछन् । टीका लगाइदिएपछि दाजुभाइलाई टोपी लगायतका विभिन्न उपहार दिदीबहिनीले दिने र दाजुभाइले दिदीबहिनीलाई नगद तथा उपहार दिने चलन छ । यस उपहारका लागि पाल्पाको ढाका टोपी नेपालमा निकै नै लोकप्रिय छ ।
अघिल्ला वर्षमा टाढाटाढाबाट पनि ढाका टोपी किन्न बजार आउने गरेकामा यसपालि भने टाढा या नजीकै ग्राहक पनि आएका छैनन् । यसैले यस पटक ढाका टोपीको किनबेचमा कमी आएको व्यवसायीको गुनासो छ । कोरोनाको कहरले यस वर्ष ढाकाको व्यवसायलाई पनि क्षति पुगेको उनीहरुको भनाइ छ ।
त्यसैगरी, तिहार पर्वका अवसरमा झिनियाँ रोटीलाई विशेष परिकारका रुपमा लिइने गरिन्छ । पछिल्लो समय तिहारमा झिनियाँ रोटीको प्रयोग बढ्न थालेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण यस पटक झिनियाँ व्यवसायमा पनि उतारचढाव आएको छ । अघिल्ला वर्षको तुलनामा व्यापारमा कमी आएको पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउँछन् ।
“अघिल्लो वर्षमा ग्राहकहरु तिहारको रौनक शुरु भएपछि झिनियाँ लिन आउँथे बिक्री गर्न पनि भ्याइनभ्याई हुन्थ्यो, अहिले ग्राहक देखेपछि लैजानुस् न भनेर भन्नुपर्ने अवस्था आएको छ”, उनले भने ।
उनले लामो समयदेखि रामपुरमा झिनियाँ व्यवसाय गर्दै आएका छन् । गत वर्ष तिहारमा मात्रै रु एक लाख ५० हजार बराबरको झिनियाँ बिक्री गरेका श्रेष्ठले अहिले भने त्यो अवसर नै पाउनु भएन ।
चामलको पीठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । घरमै बसेर घरायसी कामकाज गर्दै झिनियाँ बनाएर आयस्रोत बढाउन सकिने लक्ष्मी श्रेष्ठ बताउछन् । धेरै लगानी र मिहिनेत गर्नुनपर्ने, घरायसी काम गर्दै पनि झिनियाँ बनाएर राम्रै कमाई हुने भएपछि पछिल्लो समय झिनियाँ व्यवसायमा महिलाको आकर्षण बढ्दो छ ।
रामपुर क्षेत्रमा उत्पादन भएको झिनियाँ आकारअनुसार प्रतिदर्जन रु ६० देखि ७० बिक्री हुने गरेको व्यापारी बताउँछन् । तिहारमा दिदीबहिनीले दाजुभाइलाई विशेष परिकारका रुपमा झिनियाँ खुवाउने चलन रहेकाले झिनियाँ खरिद गर्ने गरेको रामपुरका स्थानीयवासी नर्मदा राना बताउछन् ।
पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि प्रयोग गर्ने गरिएको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघी, तीज पर्व लगायतका विभिन्न पर्व र शुभ कार्यमा पनि यसको प्रयोग हुन थालेको छ । (रासस)











