अब के होला शेयर बजार?
काठमाडाैं, वैशाख २१ : गत साता नेप्से परिसूचक १२९२ दशमलव १२ विन्दुमा खुलेको थियो भने १३२२ दशमलव ९५ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थ....
काठमाडाैं, वैशाख २१ : गत साता नेप्से परिसूचक १२९२ दशमलव १२ विन्दुमा खुलेको थियो भने १३२२ दशमलव ९५ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो। त्यस्तै, न्यून विन्दु १२८२ दशमलव ९५ थियो भने बजार १२९४ दशमलव ३९ मा बन्द भएको थियो।
यो अघिल्लो साताभन्दा २ दशमलव २७ अंक अर्थात ० दशमलव १७ प्रतिशतको वृद्धि हो। गत साता चार दिनमा ४ अर्ब ४१ करोड बराबर रकमको कारोबार भएको थियो।
प्राविधिक विश्लेषण
चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति
विगत १० महिनादेखि बजारको उतारचडाव कस्तो रह्यो भनेर हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरु प्रयोग गरिएको छ। अघिल्लो साप्ताहिक विश्लेषण अनुसार बजार मुख्य प्रतिरोध क्षेत्रमा रहेको र लगानीकर्ताहरुले नाफा सुनिश्चित गर्न सक्ने सम्भावना रहेको भनिएको थियो।
यो साता त्यही अनुरुप बजार केही सच्चिएको छ। अन्तिम दुई साताका मैनबत्तीहरुले बियरिस हरामी आकृति बनाएको छ। यस्तो आकृतिले बजार केही सच्चिन सक्ने संकेत गर्दछ। २०० एक्पोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा बजारको प्रवृत्ति माथि नै रहेकाले हालसम्म बजार सकारात्मक क्षेत्रमा नै भएको संकेत गर्दछ।
चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दैनिक मैनबत्ती चार्टको हो। यसको प्रवृत्तिले गत ७ सातादेखि नेप्सेले ११०० मा टेवा प्राप्त गरेपछि बजारले एक पछि अर्को प्रतिरोध क्षेत्रलाई तोड्न सफल भएको र बजार अझै पनि बढ्दो प्रवृत्तिमा रहेको छ। हाल बजारले १३०० को मनोवैज्ञानिक प्रतिरोध, जुन एउटा मुख्य प्रतिरोध पनि हो त्यसलाई सामना गरिरहेको देखिन्छ।
२० र ५० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरु एकापसदेखि फराकिलो र बजारको प्रवृत्ति, यी ईएमएहरुभन्दा माथि रहेकाले बजार हालसम्म बढ्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७५ दशमलव २९ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरको प्रवृत्तिहरुले शेयर बढी खरिद भएको संकेत गरेवापत अन्तिम समयमा विक्रेता हाबी रहेपनि बजार निश्चित रुपमा घट्ने संकेत भने गरेको देखिँदैन।
निष्कर्ष : नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको देखिएपनि यदि बजारले चित्र नं. २ मा देखिए बमोजिम माथिल्लो प्रवृत्ति रेखा अर्थात प्रतिरोध रेखाभन्दा माथि स्थिर रहन सके बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। त्यस्तै, यदि बजार १२८०भन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२६० मा रहेको देखिन्छ।