Kathmandu Press

हराउँदै नर्के स्नानको मौलिकता

गण्डकी, कात्तिक २९ : कात्तिक कृष्ण चतुर्दशी (नरक चतुर्दशी) का दिनमा पोखरा महानगरपालिका–३३ स्थित खुर्वादी, ओख्ले, कटुञ्जे लगायतका प्राकृतिक जलाशयमा पुगी गरिने स्नान(नर्के...
हराउँदै नर्के स्नानको मौलिकता

गण्डकी, कात्तिक २९ : कात्तिक कृष्ण चतुर्दशी (नरक चतुर्दशी) का दिनमा पोखरा महानगरपालिका–३३ स्थित खुर्वादी, ओख्ले, कटुञ्जे लगायतका प्राकृतिक जलाशयमा पुगी गरिने स्नान(नर्के स्नान)को प्रचलन पछिल्ला वर्षमा हराउँदै गएको छ।

नेपालीको महान चाड तिहारको दोस्रो दिन कुकुर तिहारका दिन यहाँका प्राकृतिक जलाशयमा झण्डै डेढ दशक अघिसम्म नर्के स्नान गर्नेका कारण जलाशय परिसरमा सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो।

नरक चतुर्दशीका दिन बिहान सबैरै उठेर कसैसँग नबोली पानीका पँधेरा तथा कुवामा गई नुहाएर दीपदान गरेमा सम्पूर्ण पापबाट मुक्त हुने धार्मिक जनविश्वासका कारण पनि नर्के स्नानलाई महत्वका साथ हेर्ने गरिएको स्थानीय शान्ति थापाले बताइन्। उनका अनुसार पछिल्ला वर्षमा बढ्दै गएको प्राचीन संस्कृतिप्रति युवा पुस्ताको अनाकर्षण र लिफ्टिङ प्रविधिका कारण घरघरमा पानी पुगेका कारण पनि प्राकृतिक जलाशयमा पुगी स्नान गर्ने प्रचलन हराउँदै गएको हो।

नरक चर्तुदशीका दिनमा तोरीको पिना लगाएर नुहाउने र नुहाइसकेपछि दियो बालेर पूजा गर्नुपर्ने यो स्नानको मौलिकता हो। विगतमा कुकुरले टोकेका व्यक्तिले त अनिवार्य नर्के स्नान गर्नुपर्ने जनविश्वास रही आएको छ । यस दिन सम्पूर्ण पापको नाशका लागि मासको पात खाने चलन पनि छ। शास्त्रमा ʿनुद सर्वाणी पापानी नरकादर्शनं कुरु । प्राश्नामी तव पत्राणि माषो देहि यशो बलम्।ʾ मन्त्रका साथ मासको पात खानुपर्ने उल्लेख छ। 

त्यस्तै स्नान गरिसकेपछि ʿदत्तो दीपचतुर्दश्यां नरकप्रीतये मया। चतुर्वतिसमायुक्तः सर्वपापापपनुत्तये।।ʾ मन्त्र उच्चारण गर्दै दीपदान गर्नुपर्ने शास्त्रमा भनिएको छ। नर्के स्नानसँगै यस दिन सर्वसाधारणले घरघरमा कुकुरको पूजा गर्दछन्।

आज्ञापालक र इमान्दार पशुका रुपमा मानिने कुकुरलाई यमराजको दूतका रुपमा लिइन्छ। भैरवको बाहनको रुपमा लिइने कुकुरलाई पूजाआजा गरी माला लगाइदिने र मन पर्ने खानेकुरा खान दिइन्छ। रासस

प्रकाशित मिति: १६:२० बजे, शनिबार, कात्तिक २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्