Kathmandu Press

चीनलाई कांग्रेसको जवाफ- हामी नेपालबाहेक कुनै पनि देशको परस्त पार्टी बन्न सक्दैनौं

ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको निन्दा गर्दै कांग्रेसले भनेको छ, ‘कांग्रेस नेपालबाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन।’
चीनलाई कांग्रेसको जवाफ- हामी नेपालबाहेक कुनै पनि देशको परस्त पार्टी बन्न सक्दैनौं
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, कात्तिक २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा नेपाली भूमि अतिक्रमणका विषयमा चीनले अफवाह फैलाएको आरोप लगाएको छ। 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गरेर हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप समेत लगाएको हो। 

बैठकले चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ग्लोबल टाइम्सले कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गरेको थियो।

बैठकले केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीले सीमा अतिक्रमणबारे सार्वजनिक गरेको प्रतिवेदनलाई गलत र दुष्प्रचार गरिएको कांग्रेसको आरोप छ।
    
‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ। नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो। कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कांग्रेस नेपालबाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन।’

यस्तै, कांग्रेसले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि कुनै पनि देशबाट हुने र हुन सक्ने अतिक्रमण तथा उल्लंघनको विपक्षमा सधैं अडिग रहने स्पष्ट पारेको छ।

यसअघि नेपालस्थित चिनियाँ दूतावासले नोभेम्वर १३ मा कांग्रेस पार्टी पत्र पठाउँदै जीवनबहादुर शाहीले सार्वजनिक गरेको प्रतिवेदन आधारहीन र झुठो भएको दाबी गरेको थियो। कांग्रेसले दूतावासको त्यस्तो दाबीलाई गैरजिम्मेवार र अमैत्रीपूर्ण भनेको छ।

कांग्रेसले चिनियाँ सरकारले भने जस्तै हुम्लामा नेपालको कुनै भूमि अतिक्रमण नभएको भए त्यसको निक्र्योल दुई सरकारबीचको संयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरुको भनाई र ऐतिहासिक भोगचलनको तथ्यसहित आएको तथ्य, सीमा स्तम्भहरुको अवस्था लगायतको प्राविधिक मूल्याङ्कनको आधारमा टुङ्गो लगाउन आपत्ति हुनु पर्ने कारण नरहेको बताएको छ।

‘शाहीले सार्वजनिक गरेको प्रतिवेदन सम्बन्धमा काठमाडौंस्थित चिनियाँ दूतावासको आधारहीन आरोप लामो समयदेखि नेपाली कांग्रेस तथा चिनियाँ सरकार र जनताबीच रहेको मैत्रीपूर्ण सम्बन्धको महत्व र गरिमा विपरीत भएकाले सम्बन्धित पक्षको ध्यानाकृष्ट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
 

प्रकाशित मिति: ००:५२ बजे, शनिबार, कात्तिक २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्