Kathmandu Press

बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

काठमाडौं, कात्तिक २७ : मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन्। ढाकामा...
बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

काठमाडौं, कात्तिक २७ : मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले जनाएको छ। नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।

कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ। ती खेलाडीको अवस्था सामान्य रहेको छ। कोरोना देखिए पनि उनले बंगलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। नेपालले शुक्रबार बंगलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले अर्को खेल आगामी मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ।

नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो। त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। बंगलादेश उड्नु अघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बंगलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपालले सन् २०१८ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बंगलादेशसँग खेलेको थियो। त्यसबेला नेपालले बंगलादेशलाई पराजित गरेको थियो। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बंगलादेशको ढाकामा रहेका छन्।   

प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्