कोरोना संक्रमणबाट रुपन्देहीमा अनमीसहित थप दुई जनाको मृत्यु
बुटवल, कात्तिक २५ : रुपन्देहीमा कोरोना संक्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ।लुम्बिनी सांस्कृतिक नगरपालिका-१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका...
बुटवल, कात्तिक २५ : रुपन्देहीमा कोरोना संक्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका-१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिए।
कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा १८ गते नै उहाँलाई अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो। उनमा कुनै दीर्घ रोग थिएन। त्यस्तै भीम अस्पताल, भैरहवामा मंगलबारै ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ।
सिद्धार्थनगर नगरपालिका-१२ निवासी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। दमबाट ग्रसित उहाँको कात्तिक १३ गते स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि सोही दिन नै उनलाई अस्पताल भर्ना गरिएको सूचना अधिकारी डा पोखरेलले जानकारी दिए।
योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।











