पोखराको आइसोलेसनबाट भागे कोरोना संक्रमित युवक
पोखरा, कात्तिक २५ : कास्कीको पोखरास्थित आइसोलेसन सेन्टरबाट एक जना कोरोना भाइरस संक्रमित युवक भागेका छन्।जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखराको मालेपाटनस्थित आइसोलेसनबाट...
पोखरा, कात्तिक २५ : कास्कीको पोखरास्थित आइसोलेसन सेन्टरबाट एक जना कोरोना भाइरस संक्रमित युवक भागेका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखराको मालेपाटनस्थित आइसोलेसनबाट बुटवलका कोेरोना संक्रमित युवक भागेका हुन्। गएराति खाना खाएर एकछिन माथिको तलामा साथीसँग कुराकानी गर्छु भनेर गएका युवक छतबाट हाम फालेर भागेका हुन्।
बुटवलका ३५ वर्षीय युवक पोखरामा बस्दै आएका थिए। उनलाई कात्तिक १५ गते कोरोना संक्रमण देखिएको थियो। त्यहि दिनदेखि महानगरले सञ्चालन गर्दै आएको आइसोलेसनमा बसेका थिए।
मासु व्यवसायी युवकलाई दशैंका वेला च्यांग्राको भनेर च्यांग्रीको मासु बेचेको आरोप लागेको थियो। प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो।
अदालतमा धरौटी बुझाउन नसकेपछि जेल चलान भएका थिए। त्यहि क्रममा उनलाई कोरोना संक्रमण भएको थियो।
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालले बताए। मालेपाटन आइसोलेसनमा ५० जना संक्रमितलाई राखिएको छ।











