डोल्पामा खुल्न थाले विद्यालय
डोल्पा, कात्तिक २३ : गत चैत्रदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन्। कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका...डोल्पा, कात्तिक २३ : गत चैत्रदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन्। कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन्।
त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन्। त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो। लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ।
नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नम्बर १ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए। सात–आठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाई गरेर सञ्चालनमा ल्याइएको उनको भनाइ छ। अर्को ठूलीभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन।
प्रशासनले खुलेका विद्यालयलाई बन्द ताकेता गर्न थालेपछि ठूलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ। तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन्।
प्रशासनद्वारा विद्यालय बन्द गर्न निर्देशन
डोल्पाका स्थानीय तहले सरकारको निर्देशनविपरीत विद्यालय खुलाएका छन्। कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफूखुशी विद्यालय चलाएको प्रशासनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयले विद्यालयमा हुने जमघटका कारण कोरोना संक्रमण फैलनसक्ने भन्दै जिल्लाका स्थानीय तहलाई विद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ। निर्देशनलाई बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले विद्यालय खुलाएको प्रशासनले जनाएको छ। रासस