Kathmandu Press

क्यान्सर उपचारमा ढिलाइले मृत्युको जोखिम बढ्ने

कोरोना उपचारलाई प्राथमिकतामा राख्दा अन्य रोगका बिरामीको उपचारमा ढिलाइ भइरहेको छ। तर, क्यान्सर रोगका बिरामीको उपचारमा एक महिना मात्र पनि ढिलाइ भएमा मृत्युको जोखिम बढ्ने बेलायत र क्यानडामा गरिएको एक अध्ययनले देखाएको छ।
क्यान्सर उपचारमा ढिलाइले मृत्युको जोखिम बढ्ने

भक्तपुर, कात्तिक २३ : क्यान्सर रोगका बिरामीको उपचारमा एक महिना मात्र पनि ढिलाइ भएमा मृत्युको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ। बेलायत र क्यानडामा गरिएको एक अध्ययनका अनुसार, अहिले कोरोना भाइरसको उपचारलाई मात्र प्राथमिकतामा राखिएको हुँदा अन्य रोगका बिरामीहरुले राम्रो उपचार तथा परामर्श पाउन सकेका छैनन्।

क्यान्सरको उपचारमा कोरोना भाइरसले प्रत्यक्ष प्रभाव पार्नुका साथै यस्ता रोगका बिरामीहरुको मृत्युदर समेत बढाएको अध्ययनले देखाएको छ। यससम्बन्धी अध्ययन हालै द बीएमजे मेडिकल जर्नलनमा प्रकाशित भएको छ।

यस अध्ययनमा संलग्न क्लिनिकल अन्कोलोजिस्ट एवं लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका एसिस्टेन्ट प्रोफेसर अजय अग्रवाल भन्छन्, ‘क्यान्सर रोगका बिरामीहरुको उपचारमा भएको ढिलाइले कस्तो असर पार्छ भन्ने विषयमा व्यवस्थित ढंगमा अनुसन्धान भइरहेको छैन। कोरोना भाइरसले क्यान्सरका बिरामीहरुमा पारिरहेको वास्तविक प्रभाव छिटो भन्दा छिटो बुझ्न जरुरी छ।’

क्यान्सर रोगका बिरामीको उपचारका लागि एक महिना मात्र ढिलाई भएपनि उनीहरुमा ६ देखि १३ प्रतिशत सम्म मृत्युको खतरा बढ्ने अध्ययनले देखाएको छ। तसर्थ उपचारमा जती ढिलाई भयो मृत्युको खतरा पनि उत्तिकै बढ्ने विज्ञहरु बताउँछन्।

क्यान्सर रोगका बिरामीको उपचार रोकिँदा अन्य कुनै पनि सुरक्षित उपायहरु नअपनाईएको प्राध्यापक अग्रवालले बताउँछन्। कोरोनाका कारण भएको लकडाउनले स्तन क्यान्सरका बिरामीहरुको उपचारमा १२ हप्ता ढिलाइ हुँदा एक वर्षमा बेलायतमा एक हजार चार सय, अमेरिकामा ६ हजार एक सय, क्यानडामा सात सय र अस्ट्रेलियामा पाँच सयको हाराहारीमा मृत्यु हुने अन्वेषकहरुको अनुमान छ।

धेरै अस्पतालहरुले महामारीको समयमा कोरोनाको जोखिमलाई कम गर्न गैर आपत्कालिन प्रक्रियाहरु स्थगित गर्न बाध्य भएका छन्। बेलायतमा गरिएको अध्ययनका अनुसार कुनै पनि स्वास्थ्य समस्याको उपचारमा ढिलाई गर्नाले लगभग २० प्रतिशतसम्म अकाल मृत्युदर बढ्न सक्छ।

आन्द्राको क्यान्सरको उपचारका लागि गरिने किमोथेरामीमा १२ हप्ता ढिलो भएमा ४४ प्रतिशतसम्म मृत्यु जोखिम बढ्ने प्राध्यापक अग्रवाल बताउँछन्। उनले बिरामीहरूका लागि वैकल्पिक उपचार विधिहरू प्रयोग गर्न तत्काल कदम चाल्न आग्रह गर्दै छोटो, तर समान रूपमा प्रभावकारी उपचारको रुपमा रेडियसन थेरापी गर्न सुझाएका छन्।

३४ वटा अध्ययनहरुको अनुसन्धान गर्दा उनीहरुले मूत्राशय, स्तन, कोलोन, मलाशय, फोक्सो र ग्रिवाका साथै टाउको र घाँटीको क्यान्सरको उपचारमा चार महिनाको ढिलाइले ६ देखि ८ प्रतिशतसम्म मृत्युको जोखिम बढाउने अनुमान गरेका छन्।

यस अध्ययनलाई जवाफ दिँदै इम्पिरियल कलेज लन्डनमा क्यान्सरको औषधी र मेडिकल एन्कोलजीका प्राध्यापक जस्टिन स्टिबिङले क्यान्सरका बिरामीहरुको उपचारमा ढिलाई भएपनि कोभिड–१९ को जोखिमलाई पनि नियन्त्रण गर्न उत्तिकै जरुरी रहेको बताए।

‘कोभिड–१९ का कारण अस्पतालमा भर्ना भएका बिरामीहरुको तुलनामा क्यान्सरका बिरामीहरुको मृत्युदर कम रहेको छ,’ प्राध्यापक स्टिबिङले भने ‘यो एउटा जटिल अवस्था हो। किनभने दिर्घरोगीहरुमा कोरोनाको थप जोखिम रहेको हुन्छ र क्यान्सरका रोगका बिरामीहरुलाई कोरोनाबाट जोगाउन पनि उत्तिकै जरुरी छ।’

यस वर्षको सुरुआती दिनहरुदेखि नै महामारीका कारण भएको लकडाउनले दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमि ल्याएको छ। तर, विश्व स्वास्थ्य निकायहरू भने क्यान्सरसँगै एचआईभी, मलेरिया र क्षयरोगको बिरूद्धको लडाईमा परेको प्रभावबाट चिन्तित बनेका छन्। (एजेन्सीकाे सहयाेगमा)

प्रकाशित मिति: १९:०५ बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्