प्रहरी भर्ना गर्दै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका
खोटाङ, कात्तिक २३ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै प्रहरी भर्ना गर्न लागेको छ।प्रहरी भर्नाका लागि गाउँपालिकाले आह्वान गरेको सूचनाअनुसार, ५४ जनाले दरखास्त...
खोटाङ, कात्तिक २३ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै प्रहरी भर्ना गर्न लागेको छ।
प्रहरी भर्नाका लागि गाउँपालिकाले आह्वान गरेको सूचनाअनुसार, ५४ जनाले दरखास्त दिएका छन्। यसका लागि सात दिनको म्याद दिइउको थियो।
एक हवल्दार र चार जवान भर्नाका लागि गाउँपालिकाले गत कात्तिक १३ गते विज्ञापन गरेर दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने अन्तिम दिनसम्ममा प्रहरी हवल्दारका लागि सात र प्रहरी जवानका लागि ४७ जनाको दरखास्त परेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका हवल्दार र प्रहरीको अन्य चरणका छनोट प्रक्रियाका लागि अर्को सूचना आह्वान गरिने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए। गाउँपालिकाको शान्ति, सुरक्षा एवं दैनिक कार्यसम्पादनका क्रममा सहयोगीका रूपमा उपयोग गर्ने गरी गाउँपालिकाले अस्थायी (करार) गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको हो।
सात वडा रहेको गाउँपालिकामा गाउँपालिका प्रहरी ऐन पास गरेरै गाउँपालिका प्रहरी हवल्दार र गाउँपालिका प्रहरी जवान भर्नाको तयारी थालिएको जनाइएको छ। गाउँप्रहरी हवल्दारका लागि एसइई वा सोसरह उत्तीर्ण भएको तथा प्रहरी जवानका लागि कक्षा ८ उत्तीर्ण गरेका महिला र पुरुषबाट दरखास्त आह्वान गरिएको छ।
हवल्दार वा प्रहरी जवानका उम्मेदवार १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने गाउँपालिकाको मापदण्ड छ। उम्मेदवारको आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको र शारीरिकरूपमा स्वस्थ हुनुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।
गाउँप्रहरीसँगै चार अहेव (सहायक चौथो) र तीन अनमी (सहायक चौथो) नियुक्तिका लागि समेत दरखास्त आह्वान गरेको थियो। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐँसेलुखर्क गाउँपालिकाले गत वर्ष नै तीन जना गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ। (रासस)











