Kathmandu Press

तिहारका लागि पाला बनाउन व्यस्त छन् भक्तपुरका कुमाल समुदाय

भक्तपुर, कात्तिक २२ : नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ। बजारमा तिहारको लागि आवश्यक सामाग्री भाइ मसला, फलफूल, सयमत्री र मखमली फूलको...
तिहारका लागि पाला बनाउन व्यस्त छन् भक्तपुरका कुमाल समुदाय

भक्तपुर, कात्तिक २२ : नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ। बजारमा तिहारको लागि आवश्यक सामाग्री भाइ मसला, फलफूल, सयमत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो छ।

बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाल समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ। “तिहार आउन एक साता पनि समय छैन। अबको दुई या तीन दिनभित्र माग अनुसारको पाला दिन नसके बनाएको व्यर्थ हुन्छ”, भक्तपुरको पोटरी स्क्वायरले परिचित तालक्वका रामप्रसाद प्रजापतिले भने।

उनका अनुसार अचेल तालक्वका कुमाल समुदायका प्रजापतिको दिनचर्या नै पाला तयार गर्नेमा नै बित्ने गरेको छ। तिहारलाई पालाको माग उच्च हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाती राखेका छन्। तिहारमा लक्ष्मी पुजाका लागि केही माग आउने भएकाले खुत्रुके बनाएपनि अन्य भाडा बनाउने कामलाई थाती राखेको रामप्रसादले बताए।

 “बिहान सबेरै उठ्यो, अघिल्लो दिन नै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी माग अनुसार बजार पठाउने काममा नै दिन बित्छ। अहिले अन्य भाँडाकुँडा बनाउने फुर्सद छैन,” उनले भने।

पालाको माग धान्न सो परिवारका महिला पुरुष मात्र होइन केटाकेटीहरु समेत पाला तयारीमा जुट्ने गरेका छन्। यस वर्ष कोरोना भाइरसको महामारीका कारण विद्यालय नखुलेका कारण र्फुसदमा रहेका केटाकेटीहरु बुबा आमाको काममा सहयोग गर्न तल्लिन देखिन्छन्। अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन सूर्यमढी, लिवाली, तुमुचो, च्याम्हासिहं र सूर्यविनायकका कुमालले अन्य भाडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा तल्लिन छन्।

तिहार विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व पनि भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमली बत्ती बाल्ने गरिन्छ। धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा रहेको छ। 

तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ। तिहारमा बत्ती बाल्नकै लागि विद्युतको माग समेत उच्च हुने गरेको छ।  

तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्य रुपमा दियोसमेत बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन्। केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती विस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारीहरु बताउँछन्।

“विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाजोमा सुरक्षाको दृष्टिकोणले पालालाई अत्यन्तै राम्रो र उत्तम मानिने भएकाले बजारमा यसको माग बढेको हो,” रामप्रसादले भने।

कुमालहरुले तयार भएको पाला थोक व्यापारीलाई बिक्री गर्ने गरेको जानकारी दिए। थोक व्यापारीले एउटा पालाको एकदेखि दुई रुपैयाँमा हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ता माझ पुर्‍याउने गरेको रामप्रसादले बताए।

भक्तपुरको पाला काभ्रेको बनेपा, धुलीखेल, पनौती, नुवाकोटको त्रिशुलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले पनि लिन आउने गरेको रामप्रसादले बताए। रासस

प्रकाशित मिति: १६:११ बजे, शनिबार, कात्तिक २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्