Kathmandu Press

कोटेश्वरतिर चलिरहेका अविश्वास र अस्थिरताको प्रयत्नलाई चकनाचुर पारिनेछ : प्रधानमन्त्री ओली 

पार्टीभित्रैबाट सरकारविरुद्ध चलखेल भइरहेको प्रधानमन्त्री ओलीले भने,‘अहिले पनि कोटेश्वरतिर यस्तै गतिविधि भइरहेका छन्। ती सबै चलखेलको सामना गरिनेछ। ’
कोटेश्वरतिर चलिरहेका अविश्वास र अस्थिरताको प्रयत्नलाई चकनाचुर पारिनेछ : प्रधानमन्त्री ओली 

काठमाडौं, कात्तिक २० : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको चलखेलको भइरहेको र त्यस्तो प्रस्ताव आए सामना गरिने बताएका छन्।

बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सुरुमै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे कुरा राख्दै सरकारविरूद्ध पार्टीभित्रैबाट अविश्वासको कुरा आइरहेको र त्यसको सामना गरिने बताएका हुन्।

अहिले पनि पार्टीभित्रैबाट सरकारविरुद्ध चलखेल भइरहेको प्रधानमन्त्री ओलीले भने,‘अहिले पनि कोटेश्वरतिर यस्तै कुराकानी भइरहेको छ। पार्टीभित्रै सरकारविरुद्धका गतिविधि भइरहेका छन्। ती चलखेलको सामना गरिनेछ। ’

उनले पार्टीभित्र विश्वास अविश्वासका कुरा चलिरहेको र त्यसको सामना आफूले गर्ने बताए।  ‘पार्टीमा गुटबन्दी चलिरहेको छ। सरकारविरुद्ध घेराबन्दी गर्ने र असहयोग गर्ने काम भइरहेको छ,’ उनले भने,‘हामी यता बैठक बसिरहेका छौं। अहिले पनि कोटेश्वरमा गतिविधि भइरहेका छन्।। तर, सबै खाले परिस्थितिको सामना गरिन्छ।’

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भइरहेका अस्थिरताका प्रयत्नहरुलाई चकनाचुर पार्ने बताएको बैठकमा सहभागी एक मन्त्रीले काठमाडौंप्रेसलाई जानकारी दिए। ती मन्त्रीका अनुसार सरकारविरुद्ध भइरहेका गतिविधिलाई सफल हुन नदिइने प्रधानमन्त्री ओलीले बताएका थिए।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा चलिरहेका बेला पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट कानून व्यवसायीहरुसँग परामर्श गरिरहेका थिए।

नेकपाभित्र कर्णालीमा प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव, राजदूत नियुक्तिका लागि सिफारिसको निर्णय, मन्त्रिपरिषद् विस्तार,  भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट लगायतका विषयलाई लिएर विवाद चर्किएको छ।

विवादले उग्ररुप लिन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उपाध्यक्ष बामदेव गौतमलाई शीतलनिवास बोलाएर पार्टीलाई फुटबाट जोगाउने गरी भूमिका खेल्न आग्रह गरेकी थिइन्।

प्रकाशित मिति: ०१:५३ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्