Kathmandu Press

ओली र प्रचण्डबीचको छलफल विनानिष्कर्ष सकियो

काठमाडौं, कात्तिक २० : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको...
ओली र प्रचण्डबीचको छलफल विनानिष्कर्ष सकियो

काठमाडौं, कात्तिक २० : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको भेटमा अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल भएको थियो। तर, दुई अध्यक्षबीचको छलफल निष्कर्षविहीन भएको स्रोतले जनाएको छ। 

भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति, प्रदेश १ का नेताहरुसँगको जुम मिटिङ लगायतका विषयमा चासो राखेका थिए। अध्यक्ष प्रचण्डनिकट स्रोतका अनुसार प्रचण्डले पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न सचिवालय र स्थायी कमिटीको बैठक बोलाउन माग गरेका थिए। तर, प्रधानमन्त्री ओलीले भने अहिले बैठकको कुनै आवश्यकता नरहेको बताएको बालुवाटार स्रोतले जनाएको छ। 

नेकपाभित्र कर्णालीमा प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव, राजदूत नियुक्तिका लागि सिफारिसको निर्णय, मन्त्रिपरिषद् विस्तार,  भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट लगायतका विषयलाई लिएर विवाद चर्किएको छ।

विवादले उग्ररुप लिन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उपाध्यक्ष बामदेव गौतमलाई शीतलनिवास बोलाएर पार्टीलाई फुटबाट जोगाउने गरी भूमिका खेल्न आग्रह गरेकी थिइन्।
 

प्रकाशित मिति: २१:०६ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्