अन्योलग्रस्त अवस्थामा शेयर बजार बन्द
काठमाडौं, वैशाख १९ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४ दशमलव २१ ले घटेर १२९४ दशमलव ३९ को विन्दुमा पुगेको छ।
आज दोस्रो ....
काठमाडौं, वैशाख १९ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४ दशमलव २१ ले घटेर १२९४ दशमलव ३९ को विन्दुमा पुगेको छ।
आज दोस्रो बजार परिसूचकमा ० दशमलव ३२ प्रतिशतले घटेकोे छ। आज दोस्रो बजार १२९८ दशमलव ६० को विन्दुमा खुलेको थियो भने १३०० दशमलव ४३ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२८२ दशमलव ९५ थियो। आज दिनभरमा ५८ करोड ७८ लाख बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ।
आजको बजार अवस्था
सर्वाधिक कमाउने र गुमाउने
आज हिमालयन डिष्ट्रिलरका शेयरधनीले सर्वाधिक ५ दशमलव २७ प्रतिशतले कमाए भने युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमलव ०४ प्रतिशतले गुमाए।
प्राथमिक बजार गतिविधि
-आज सान्जेन, रसुवागढी र युनियन हाइड्रोपावरको प्राथमिक शेयर (आइपिओ) बाँडफाँड भएको छ।
भोलिका प्रमुख गतिविधि
-गुराँस लघुवित्तको आइपीओका लागि आवेदन दिने भोलि अन्तिम दिन रहेको छ।
मूल्य समायोजन गतिविधि
-नेपाल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस शेयर प्रयोजनार्थ शेयर मूल्य समायोजन भएको छ।
शेयर सूचीकरण
-आज पाँचथर पावर कम्पनीको साधारण शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख १९ गते बजार १२९४ दशमलव ३९ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा ० दशमलव ३२ प्रतिशतले कम हो।
आजको मैनबत्तीले हतौडा आकृति बनाएको छ। यो आकृतिले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरेपनि अर्को दिनको मैनबत्ती पनि हेर्नु पर्ने हुन्छ। विगत केही समयदेखिको कारोबारभन्दा आजको कारोबारमा गिरावट आएकाले आजको मैनबत्ती आकृतिलाई परिमाणले पूर्ण रुपले समर्थन गरेको देखिँदैन।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन टेवा १२७५ देखि १२८० को क्षेत्रमा रहेको भनिएको थियो। आज बजार यो टेवा क्षेत्रमा नआएपनि १२८२ दशमलव ९५ मा टेवा प्राप्त गरेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा नजिकिँदै आएकाले बजारमा विक्रेताभन्दा क्रेताको चाप बढी रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५४ दशमलव १४ अंकमा रहेको छ। यसले बजारको पछिल्लो समयमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेपनि बजार सच्चिहाल्ने देखिँदैन।
निष्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार अझै पनि सकारात्मक क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १३०० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भने अर्को तत्कालीन प्रतिरोध १३१० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२९० भन्दा तल रहेमा अर्को तत्कालीन टेवा १२८० मा रहेको देखिन्छ।