विराटनगरमा कोरोना संक्रमणबाट दुई वृद्धवृद्धाको मृत्यु
विराटनगर, कात्तिक १९ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा दुई जना बृद्धबृद्धाको मृत्यु भएको छ।विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक–३ बेलगाँडी शरणार्थी शिविरमा...
विराटनगर, कात्तिक १९ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा दुई जना बृद्धबृद्धाको मृत्यु भएको छ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक–३ बेलगाँडी शरणार्थी शिविरमा बस्दै आएका भुटानी शरणार्थी ६५ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको हो। उनको बिहान २ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।
उनलाई कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि त्यहि दिन नोबेल अस्पताल भर्ना गरिएको थियो।
उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै, इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धाको आज बिहान २ बजे नोबेल अस्पतालमै उपचारका क्रममा मृत्यु भएको छ। उनी दमको रोगबाट पीडित थिइन।
उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो।
कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा वार्डमा राखेर उपचार सुरु गरिएको थियो। उपचार थालेको केही घन्टामै मृत्यु भएको दाहालले बताए।











