Kathmandu Press

साउदीमा मृत्यु, नेपालमा दाहसंस्कारपछि घर फिरेका एक युवा

आफ्नो श्रीमानको दाहसंस्कार गरेपनि सन्तोषी सुवास उनको जीवनमा पुन: आउने आशा राख्थिन्। उनको असम्भव भनिएको आशा पनि पूरा हुन्छ, जब नयाँ रहस्योद्घाटन हुन्छ।
साउदीमा मृत्यु, नेपालमा दाहसंस्कारपछि घर फिरेका एक युवा
आफ्नो मृत्युको प्रमाणपत्रका साथ सुवास।

काठमाडौं, कात्तिक १७ :  दाउराको खात छ। विस्तारै ती खात चितामा परिणत हुन्छन्। अब चिता बल्न थाल्छ। पाँच वर्षअघि श्रीमानको दाहसंस्कार गरेपछि सन्तोषी तामाङ बारम्बार यस्तो सपना देख्छिन्।

आफ्नो श्रीमानको दाहसंस्कार गरेपनि सन्तोषीमा सुवास उनको जीवनमा पुन: आउने आशा राख्थिन्। उनको असम्भव भनिएको आशा पनि पूरा हुन्छ, जब नयाँ रहस्योद्घाटन हुन्छ। सन्तोषी अब फ्ल्यासब्याकमा पुग्छिन्।

उनको श्रीमानको शव कात्रोमा बेरिएको थियो। धर्मगुरु लामा, छिमेकी, आफन्त, छोरा र छोरी शव यात्रामा लामबद्ध थिए। दाहसंस्कार पनि गरियो। 

बौद्धमार्गीहरुको विश्वास छ शरीर जलेपछि आत्माले मुक्ति पाउँछ।‘मलाई थाहा थियो। मेरो आशा असम्भव छ तर पनि भित्रैदेखि सुवास मेरो जीवन पुन: आउने छ भन्ने अनौठो अभिलाषा थियो,’ उनले भनिन्। 

सन्तोषीको आशाझैँ जीवनमा सुवासको पुनरागमन पनि सम्भव भयो। 

यस्तो थियो घटना

साउदी अरबको निर्माण कम्पनी हुन्ड्याइमा सुवास कार्यरत थिए।

सन् २०१५ जुन ९ मा घरमा पैसा पठाउन उनीसहित तीन जना साथी ट्याक्सी भाडामा लिएर गएका थिए। कम्पनीको परिसरबाट २० माइलपर पुग्ने वित्तिकै उनीहरु सवार ट्याक्सी दुर्घटनामा पर्‍यो। दुर्घटनामा तीन जनाको मृत्यु भयो।

परिवारका साथ सुवास।
 

सुवास तामाङ र ट्याक्सी ड्राइभर तेजेन्द्र भण्डारी भने गम्भीर घाइते भएर अचेत अवस्थामा पुगेका थिए। उनीहरुलाई तुरुन्तै हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइयो। भोलिपल्ट तीमध्ये एकको मृत्यु भएको घोषणा अस्पतालले गर्‍यो।

मृतकको आधिकारीक सनाखत हुन बाँकी थियो। त्यसका लागि ह्युन्डाइमा काम गर्ने सुवासका भतिजो भुपाल तामाङले कम्पनीका प्रबन्धकसँग अनुमति मागे। 

भुपाल पनि आफ्ना काका सुवाससँगै पैसा पठाउन जाने तयारीमा थिए। उनले केही अबेर गरेका कारण काकाले साथीहरुलाई लिएर निस्किएका थिए।  

प्रबन्धकले त्यो काम आफ्नो रहेको भन्दै भुपाललाई सनाखतका लागि छुट्टी दिन मानेन्। प्रबन्धकले शवको पहिचान गरी भुपालको त्रासलाई सही सावित गराइदिए। मृत्यु भएको एक महिनापछि शव नेपाल पठाउने तयारी भयो। भुपाललाई काकाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न समेत कम्पनीले छुट्टी दिएन।

जब शव नेपाल पुग्यो त्यसलाई घरसम्म पुर्‍याउन एक दिन लागेको सन्तोषी स्मरण गर्छिन्। एयरपोर्टदेखि घरसम्म उनी मुर्छित अवस्थामै आइपुगेको उनको भनाइ छ।  शव घर पुर्‍याउँदा आफन्तहरु भेला भइसकेका थिए। धर्मगुरु लामाहरु अन्तिम संस्कार अघिको धार्मिक प्रक्रिया पूरा गर्न आइसकेका थिए।

सुवासको मृत्युसँगै २६ वर्षमै सन्तोषी विधवा भइन्। उनका ९ र सात वर्षका छोराछोरी टुहुरा भए।

तर यो परिस्थिति कम्पनीका प्रबन्धकको लापरबाहीका कारण उन्पन्न भएको थियो। उनले शव पहिचानमा गरेको लापरबाहीका कारण सन्तोषी विधावा भएकी थिइन्।

घटनाको एक महिनापछि अब्दुलाजिज अस्पतालमा सुवास तामाङ्को होस आउँछ। कोमामा गएर फिरेका उनलाई कुनै सम्झना छैन केबल थाहा छ उनको नाम सुवास तामाङ।

दुर्घटनाको दिन सुवास र उनका साथीले जिदास्थित नेपाली रेष्टुरेन्टमा खाना खाएका थिए। रेष्टुरेन्टका सञ्चालक आनन्द कार्कीले उनीहरुलाई राम्रोसँग चिन्थे। जब कार्की ट्याक्सी चालक तेजेन्द्र भण्डारीलाई भेट्न भन्दै अस्पताल पुगे उनले जिवित रहेको व्यक्तिको हातमा ट्याट्यु देखेनन्। त्यसपछि कार्कीलाई शंका लाग्यो गलत सनाखत भएका कारण भण्डारीको शव नेपाल पुग्यो यता सुवास जिउँदै छन्। 

यो शंका उनका भतिजासम्म पुर्‍याउन कार्कीले निरन्तर प्रयास गरे। पाँच दिनपछि उनी सफल भए। शव पहिचानका विषयमा घरमा बुझ्दा चितामा राखेपछि कात्रो फाल्दा अनुहार पहिचान गर्ने स्थितिमा थिएन। कागजपत्रमा उल्लेख भएका कारण र कम्पनीले खबर गरेका कारण शव त्यही हो भन्नेमा परिवार विश्वस्त भयो। 

आफ्ना काका जिउँदै रहेको कुरा भुपाल जानकार भएर पनि कम्पनीले केही कारबाही गर्ला भन्ने त्रासका कारण घरमा खुलाएनन्। ‘कागजीरुपमा उनी मरिसकेका थिए। आफ्नो कमजोरी लुकाउन जिवित काकालाई अस्पतालमै मारिएला भन्ने त्रासले मैले कहीँकतै जानकारी गराइँन,’भुपाल भन्छन्।

यो रह्योद्घाटनसँगै तेजेन्द्र भण्डारीकी श्रीमतीलाई अस्पतालमा जिवित रहेका व्यक्ति उनकी श्रीमान रहे नरहेकोबारे पहिचान गर्न भनियो।
तर, अस्पतालमा रहेका व्यक्ति आफ्ना श्रीमान नरहेको कुरा उनले बताइन्। र, कफनमा पोको पार्नु अघिको शवको फोटो उनलाई देखाउँदा मृतक आफ्ना श्रीमान रहेको कुरा उनले खुलाइन्। 

यतिन्जेलसम्म हिन्दू तेजेन्द्र भण्डारीको शव सुवास तामाङको हो भनेर बौद्ध परम्परा अनुसार दाहसंस्कार भइसकेको थियो। 

सुवासको होस आएपछि ह्युन्डाइले अस्पताल जान भुपाललाई अनुमति दियो। अस्पताल पुगेपछि उनले काकी सन्तोषीलाई भिडियो कल गरे। मृतक भनेर दाहसंस्कार गरेको आफ्ना श्रीमान जिवित देखेपछि सन्तोषी रुन थालिन्। त्यसपछि सुवासले भुपाललाई सोधे-‘सन्तोषी किन रोएकी?’

भुपालले भने,‘काकीले त तपाईंको दाहसंस्कार समेत गरेकाले  रुनुभएको हो।’ नोभेम्बरको अन्तिमतिर कम्पनीले सुवासको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै नेपाल पठाउने तयारी गर्‍यो।  तर कागजी प्रक्रियाका कारण घर आउन उनलाई दुई वर्ष लाग्यो। सन् २०१७ अप्रिलमा सुवास घर फर्किए।

जब सुवास घर फर्किए धर्मगुरुहरुले उनलाई तत्कालै परिवारका सदस्यहरुसँग भेट्न रोक लगाए। विधि अनुसार उनले पुर्नजन्म र पुर्नविवाहको प्रक्रिया पूरा गरिसकेपछि मात्रै उनलाई परिवारसँग पुनर्मिलन गर्न दिइने भइयो।

सुवासको नयाँ नाम रिन्चेत राखियो। उनको नामाकरणसँगै सन्तोषीसँग फेरि विवाह पनि गरियो। ‘पुर्नजीवन बल्ल सुरु भयो,’ आफ्नो नयाँ नामाकरण र विवाहको स्मरण गर्दै रिन्चेन भएका सुवासले भने। 

मृत घोषित गरिएको कागजातका आधारमा सन्तोषीले आठ लाख  रुपैयाँ क्षतिपूर्ति पाएकी थिइन्। त्यसले ऋण तिरिन्। बचेको पैसाबाट विद्युतीय रिक्सा किनेकी थिइन्। 

रिक्सा पनि बारम्बार दुर्घटनामा पर्‍यो। त्यहीबेला सन्तोषीको उपचारका लागि शल्यक्रिया गर्नुपर्ने हुँदा उनीहरु अहिले ऋणमा डुबेका छन्। सानो होटल खोलेका थिए, त्यो पनि कोरोना महामारीका कारण नचलेपछि उनीहरु तनावमा छन्। सुवासको अवस्था पछि सन्तोषी आफैँ विदेश जाने सोच बनाएकी थिइन् तर सुवासले जान दिएनन्।

अहिले उनीहरु एक छाकमा बाँचिरहेका छन्। १४ वर्षीय छोरालाई पढाउन मन छ। तर, बाध्यताका कारण उसलाई पढाइ छोडाएरै चार वर्षपछि विदेश पठाउने उनीहरुको योजना पनि छ। ‘उ नै हाम्रो संकट समाधानको एक मात्र विकल्प हो,’सन्तोषी भन्छिन्। 

सपना त हाम्रो पनि धेरै थियो तर गरिबको सपना पूरा गर्न कहाँ सहज रहेछ र! कष्टकाबीच श्रीमानको पुनर्जीवनबाट खुशी देखिएकी सन्तोषीले कुराको बिट मारिन्।

-लस एन्जेलेस टाइम्सबाट अनुवादित। 

प्रकाशित मिति: २२:३२ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्