उजुरीकर्ता उपस्थित नभएपछि प्रस्तावित राजदूतत्रयको सुनुवाइ कात्तिक २७ मा हुने
काठमाडौं, कात्तिक १७ : अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने भएको छ। समितिको सोमबार बसेको...
काठमाडौं, कात्तिक १७ : अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने भएको छ।
समितिको सोमबार बसेको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
सरकारले गत असोज १५ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको थियो।
समितिले प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्तालाई सोमबारको बैठकमा बोलाएपनि कुनै उजुरीकर्ता उपस्थित भएनन्। उजुरीकर्ताको नाम, नम्बर र वतन स्पष्ट नखुलेपछि समितिले १० दिने लिखित सूचना जारी उजुरीकर्तालाई बोलाएको थियो।
प्रस्तावित राजदूत खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेका छन्। समितिको असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो।
प्रस्तावित नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।











