जनस्वास्थ्य विज्ञ डा. पाण्डे भन्छन्– काठमाडौंमा कोरोना संक्रमण विष्फोटक अवस्थामा पुग्यो
काठमाडौं, कात्तिक १६ : कोरोना संक्रमण काठमाडौं उपत्यकामा विष्फोटक अवस्थामा पुगेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको...
काठमाडौं, कात्तिक १६ : कोरोना संक्रमण काठमाडौं उपत्यकामा विष्फोटक अवस्थामा पुगेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकलाई हेर्दा उपत्यकामा संक्रमण विष्फोटक अवस्थामा पुगेको विज्ञहरुको तर्क छ।
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौंमा कोरोना संक्रमण बढ्नु र देशभर मृत्युदरसमेत बढ्दै गएकाले अवस्था चिन्ताजनक भएको बताएका छन्। उनले परीक्षणको दर कम हुँदै गएको र संक्रमण भने बढ्दै गएको बताएका छन्।
‘पछिल्लो २४ घन्टाको तथ्यांक हेर्दा परीक्षण निकै कम भएको देखिन्छ। तर संक्रमण प्रतिशत भने धेरै देखिएको छ। एक हिसाबले भन्दा काठमाडौं उपत्यकामा कोरोना विष्फोटक अवस्थामा पुगेको छ,’ पाण्डे भन्छन्, ‘यस्तै मृत्युदरसमेत बढेकाले चिन्ता थपिएको छ। क्वारेन्टिनमा असुविधाको कारण त्यहाँ बस्ने एकदम न्यून छन्। सँगै संस्थागत आइसोलेसन प्रभावकारी भएनन्।’
उनले ९६ जना आईसीयूमा तथा ६९ जना भेन्टिलेटरमा हुँदा कसरी आईसीयु भरिए भन्दै प्रश्नसमेत गरेका छन्। सरकारले दुई हजार ६ सय आईसीयू र नौ सय भेन्टिलेटर रहेको भनिरहँदा आईसीयू र भेन्टिलेटर प्याक हुनु आश्चर्यजनक भएको उनको भनाइ छ। अस्पतालमा दैनिक बेड अडिट गरिनुपर्ने र खालि भएर पनि बेड लुकाउने अस्पताललाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।
उनले परीक्षण दर जतिसक्दो धेरै बढाउनुपर्ने बताए। ‘संक्रमितलाई प्रभावकारी ठाउँमा निगरानी गरेर आइसोलेसनमा राख्नुपर्छ। सुविधाजनक आइसोलेसन केन्द्र हरेक वडामा निर्माण गर्नुपर्छ,’ उनी भन्छन्, ‘काठमाडौं उपत्यकामा जनस्वास्थ्यका मापदण्डको अनुगमन तथा निगरानीमा कडाइ गर्नुपर्छ।’
तीनतीन वटा ठूला मेडिकल कलेज, सरकारी अस्पताल र निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गर्नुपर्ने र उपत्यका बाहिर पनि संक्रमितको संख्या अनुसार यस्तै व्यवस्था गर्नुपर्ने पाण्डेको भनाइ छ।
‘सेनालाई साधन, स्रोत र स्थान दिएर प्रिफ्याबका अस्थायी अस्पताल बिभिन्न ठाउँमा निर्माण गर्नुपर्छ। हरेक बेडलाई अक्सिजन बेडको रुपमा विकास गर्दै, हरेक अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य गर्नुपर्छ,’ पाण्डे भन्छन्, ‘हामी आम नागरिक थप अनुशाशित र सरकार थप जिम्मेवार हुनुपर्छ।’
स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार देशभर पिसिआर परिक्षण नौ हजार दुई सय ७९ भएको थियो। जसको २७.५ प्रतिशत अर्थात दुई हजार पाँच सय ६ मा संक्रमण देखिएको थियो। यस्तै १७ जनाको मृत्यु भएको थियो।
देशभर भेटिएका कुल संक्रमितको ५०.१५ प्रतिशत अर्थात १ हजार दुई सय ५७ जना संक्रमित काठमाडौं उपत्यकाका थिए। मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार पाँच सय ८४ जना सक्रिय संक्रमित छन्।











