Kathmandu Press

विदेशमा थप नौ सय ६३ नेपालीमा कोरोना संक्रमण

लन्डन, कात्तिक १६ : कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहर सुरु भएदेखि विदेशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो...
विदेशमा थप नौ सय ६३ नेपालीमा कोरोना संक्रमण

लन्डन, कात्तिक १६ : कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहर सुरु भएदेखि विदेशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ।

गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप नौ सय ६३ नेपालीलाई कोरोना संक्रमण देखिएको हो। संक्रमण देखिएकामध्ये चार सय ५० जना रोमानियामा रहेका नेपाली छन्।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका हुन्। यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन।

विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार पाँच सय ६९ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये ३९ हजार पाँच सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ।

गत सातासम्म १९ देशका दुई सय ८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको सङ्घले जनाएको छ।

यसैबीच सङ्घले अत्यावश्यकबाहेक अन्य कामका लागि यात्रा नगर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ। कोरानो भाइरसको विश्वव्यापी संक्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अत्यावश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न सङ्घले आग्रह गरेको हो।

सङ्घ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गरे। स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन पनि अनुरोध गरेको छ। (रासस)

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्