Kathmandu Press

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं, कात्तिक १४ : राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये...
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं, कात्तिक १४ : राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जनामा कोरोना संक्रमण देखिएको जनाएको छ। कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्।

नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी सहभागी छन्।

नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ।

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा राखेको छ। प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फालाई अनुमति दिएको हो।

नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गरेको छ। मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो।

टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन्। विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, कात्तिक १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्