बैंग्लोरलाई हराउँदै मुम्बई प्लेअफ नजिक
काठमाडौं, कात्तिक १३ : रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच विकेटले हराउँदै डिफेडिङ च्याम्पियन मुम्बई इन्डियन्स यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ नजिक पुगेका...
काठमाडौं, कात्तिक १३ : रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच विकेटले हराउँदै डिफेडिङ च्याम्पियन मुम्बई इन्डियन्स यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ नजिक पुगेका छ।
लिग चरणका १२ खेलमा आठ जित निकालेको मुम्बई १६ अंकका साथ शीर्ष स्थानमा छ। लिग चरणका बाँकी दुईमध्ये एक खेल जितेमा मुम्बई प्लेअफमा पुग्नेछ।
दुवै खेलमा पराजित भएपनि मुम्बईको प्लेअफ सम्भावना बाँकी नै रहनेछ। समान १४ अंक जोडेका बैंग्लोर र दिल्ली क्यापिटल्स दोस्रो र तेस्रो स्थानमा छन्।
अबुधाबीमा बुधबार राति भएको खेलमा बैंग्लोरले दिएको एक सय ६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो। मुम्बईका लागि सूर्यकुमार यादवले अर्धशतकीय योगदान दिए। उनले ४३ बल खेल्दै १० चौका र तीन छक्काको मद्दतमा नटआउट ७९ रन बनाए।
यस्तै, इशान किशानले २५, क्वेन्टन डी ककले १८ र हार्दिक पाण्ड्याले १७ रनको योगदान दिए। बैंग्लोरका युजभेन्द्र चहल र मोहम्मद सिराजले दुई दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६४ रन बनाएको थियो। देवदूत पाडिक्कलले सर्वाधिक ७४ रन बनाए। उनले ४५ बलमा १२ चौका र एक छक्का प्रहार गरे। यस्तै, जोश फिलिपले ३३ र एबी डे भिलियर्सले १५ रन बनाए। मुम्बईका जसप्रित बुमराहले तीन विकेट लिए।
आज चेन्नेई सुपर किंग्स र कोलकोत्ता नाइट राइडर्सबीच खेल हुनेछ।











