Kathmandu Press

चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाटै दर्शन र पूजा

काभ्रे, कात्तिक ८ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारबाटै दर्शन र पूजा गर्न थालिएको छ।जिल्ला प्रशासन कार्यालयले सूचना...
चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाटै दर्शन र पूजा

काभ्रे, कात्तिक ८ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारबाटै दर्शन र पूजा गर्न थालिएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना टाँसेर शक्तिपीठ र मन्दिरमा प्रवेश निषेध गरेपछि प्रवेशद्वारबाटै दर्शन गर्न थालिएको हो। मन्दिरमा दर्शन गर्न जानेहरु मूल प्रवेशद्वारबाट नै दर्शन र पूजा गरी फर्कने गरेका छन्।

प्रशासन कार्यालयले विषम परिस्थितिमा बडादशैंँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गाभवानीको पण्डालमा समेत सर्वसाधारणको भीड अत्यधिक भई कोरोना संक्रमणको सम्भावित जोखिम हुने भएकाले सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ। विगत वर्षहरुमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलो घुइँचो हुने गरेको थियो।

अहिले कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रवेशमा निषेध गरिएपछि बाहिरबाट नै दर्शन गर्ने ब्यवस्था मिलाइएको मन्दिरका पुजारी लक्ष्मण कर्माचार्यले बताए। ‘हामीले मन्दिरमा गर्नैपर्ने पूजाबाहेक अरु पूजासमेत बन्द गरेका छौंँ,’ उनले भने। मन्दिरमा बनेपा आसपासका बासिन्दा दर्शन गर्न जाने गरेका छन्।

त्यसै, पाँचखाल नगरपालिका ९ पलाञ्चोकमा रहेको प्रसिद्ध एवं ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरमा हरेक वर्ष राष्ट्रपतिबाट महाअष्टमीमा पूजा र दर्शन गरेकामा यस वर्ष भ्रमण स्थगन भएको वडाध्यक्ष किरण श्रेष्ठले बताए। सर्वसाधारण दर्शनका लागि आए पनि बाहिरबाट नै दर्शन गरी फर्कने गरेको र बलिपूजा पूर्ण रुपमा निषेध गरिएको उनले बताए।

यसअघि पनि बन्दाबन्दीपछि मन्दिरमा यस वर्षको वैशाख पूर्णिमामा लाग्ने पूजा र जात्रा स्थगन गरिएको थियो। (रासस)

प्रकाशित मिति: १७:५३ बजे, शनिबार, कात्तिक ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्