हाइड्रोपावर उपसूचक बढेपनि किन देखियो शेयर बजारमा गिरावट?
काठमाडौं, वैशाख १७ : धेरै पछि हाइड्रोपावर क्षेत्रमा निकै ठूलो वृद्धि देखिएको छ। ११०० परिसूचकबाट बजारले १३०० को दौड समात्दा अरु सबै क्षेत्रमा मिठो....
काठमाडौं, वैशाख १७ : धेरै पछि हाइड्रोपावर क्षेत्रमा निकै ठूलो वृद्धि देखिएको छ। ११०० परिसूचकबाट बजारले १३०० को दौड समात्दा अरु सबै क्षेत्रमा मिठो बुल देखिएपनि हाइड्रोपावर समूह भने त्यति बढ्न सकेको थिएन।
आज सबैभन्दा धेरै हाइड्रोपावर सेक्टरमा ३ दशमलव ८२ प्रतिशतको वृद्धि देखिएको छ। फाइनान्स कम्पनीको उपसूचकमा ० दशमलव १६ प्रतिशतको वृद्धि देखियो भने अरु समूहमा लगानीकर्ताहरुले नाफा सञ्चित गरेवापत उपसूचकमा गिरावट आएको देखिन्छ। जसका कारण फलस्वरुप समस्त बजारमा नै गिरावट आएको देखिन्छ।
सबै क्षेत्रमा पालैपालो वृद्धि देखिएको र हाइड्रोपावर क्षेत्रमा आज वृद्धि देखिएको सजिलै अनुमान लगाउन सकिन्छ। आज सर्वाधिक कमाउने १० कम्पनीको सूचीमा ९ हाइड्रोपावर कम्पनीको शेयर परेको छ। आज साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ११ दशमलव ७० ले घटेर १२९८ दशमलव ६० को विन्दुमा पुगेको छ।
आज दोस्रो बजार परिसूचकमा ० दशमलव ८९ प्रतिशतको गिरावट देखिएको छ। आज दोस्रो बजार १३१० दशमलव ३१ को विन्दुमा खुलेको थियो भने १३१६ दशमलव ५३ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२९६ दशमलव ०७ थियो। आज दिनभरमा ९५ करोड बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्योरेन्सको १६ करोड बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सानिमामाई हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले कमाए भने र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले सर्वाधिक ५ दशमलव ८९ प्रतिशतले गुमाए।
प्राथमिक बजार गतिविधि
-गुराँस लघुवित्त वित्तीय संस्थाको वैशाख १६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मुल्यमा २ लाख ३३ हजार ६ सय २५ कित्ता शेयर आइपीओ खुला गरेको छ। लगानीकर्ताले वैशाख २० गतेसम्म आवेदन दिन सक्ने छन्।
-आज नेपाल एग्रो लघुवित्तको आइपीओ बाँडफाँड भएको छ।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख १७ गते बजार १२९८ दशमलव ६० विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा ० दशमलव ८९ प्रतिशतले कम हो। विगत तीन दिनका मैनबत्तीहरुले इभिनिङ्ग स्टारको आकृति बनाएको छ। यो आकृतिले बढ्दो बजारमा क्रेताको चाप कम भएको र बजार केही सच्चिन सक्ने संकेत गर्दछ। आजको परिमाणले बजारमा हाइड्रोपावर र फाइनान्समा बाहेक अन्य उपसूचकहरुमा विक्रेताहरु हावी रहेको देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन टेवा १३०० मा रहेको थियो। आज बजार यो टेवा क्षेत्रबाट तल आएपछि बजार केही घट्दो प्रवृत्तिमा रहेको र च्यानलमा सीमित रहेको देखिन्छ।
आज कारोबारको अन्तिम समयमा ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) भन्दा बजार तल रहेकाले बजार केही सच्चिन सक्ने संकेत गरेको छ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ३८ दशमलव ९१ अंकमा रहेको छ। यसले बजारको अन्तिम समयमा शेयर बढी विक्री भएपछि माग केही बढेको देखिएपनि यसको प्रवृत्ति सकारात्मक भइहालेको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप हुन सक्ने संकेत गरेपनि यो छोटो समयका लागि मात्र हुन सक्ने संकेत गरेको छ।
निष्कर्ष: माथि उल्लेखित नेप्से प्रवृत्तिहरु र सूचकहरुले समग्रमा बजार केही सच्चिन सक्ने संकेत गरेपनि यदि बजारले च्यानलको माथिल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोड्न सके बजार केही सकारात्मक हुन सक्ने देखिन्छ।
त्यस्तै, च्यानलको तल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोडेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ भने अर्को तत्कालीन टेवा १२७५ देखि १२८० को क्षेत्रमा रहेको देखिन्छ।