शैलेश्वरीसहित शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा
डोटी, कात्तिक ५ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछ िस्थानीय प्रशासनले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ।चाडपर्व सुरु भएसँगै मन्दिर...
डोटी, कात्तिक ५ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछ िस्थानीय प्रशासनले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
चाडपर्व सुरु भएसँगै मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, डोटीले निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ। बडादशैँ नजिकिएसँगै कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिले जिल्लाको शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए।
प्रजिअ भट्टराईका अनुसार शक्तिपीठ र मन्दिरमा निश्चित पुजारीद्वारा सामान्य गरिने नित्यकर्मबाहेक अन्य सबै पूजा बन्द गरिएको छ। उनले सबैलाई नियम पालना गर्न आग्रह गरेका छन्।
निषेधित क्षेत्र घोषणा भएपछि यहाँका शक्तिपीठ र मन्दिरहरुमा भक्तजनको खासै चहलपहल नरहेको दिपायल सिलगढी नगरपालिका–३ का भरत द्धारियाले बताए। कोरोनाले मान्छेमा त्यत्तिकै त्रास थियो, त्यसैमा प्रशासनले मन्दिरलगायत सार्वजनिक ठाउँलाई निषेधित क्षेत्र बनाएपछि खासै चहलपहल नभएको उनले बताए।
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा नित्य पूजापाठबाहेकका अन्य सम्पूर्ण गतिविधि गर्न निषेध गरिएको पुजारी प्रेमशङ्कर भट्टले बताए।











