Kathmandu Press

डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष 

काठमाडौं, कात्तिक ४ : जनता समाजवादी पार्टी (जसपा) ले वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ। जसपाको कार्यकारिणी सभाको बैठकले मंगलबार...
डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष 

काठमाडौं, कात्तिक ४ : जनता समाजवादी पार्टी (जसपा) ले वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ। 

जसपाको कार्यकारिणी सभाको बैठकले मंगलबार डा. भट्टराईलाई पार्टीको संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो। तत्कालीन संघीय समाजवादी पार्टी र राजपा नेपाल एकीकरण हुनुअघि डा. भट्टराई संघीय समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष थिए।

राजपा र संघीय समाजवादी पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिँदा भट्टराईलाई वरिष्ठ नेताको हैसियतमा पार्टीको चौथो वरियतामा राखिएको थियो। 

जसपाको अध्यक्षद्वयमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्। यस्तै, कार्यकारिणी सभाको बैठकले जसपाको भ्रातृ र जनवर्गीय संगठन समायोजन सहजीकरण कार्यदल पनि गठन गथरेको छ। कार्यदलमा वृषेशचन्द्र लाल, उमाकान्त झा, मनिष सुमन, केशव झा, रामसहाय यादव, रकम चेम्जोङ, हिसिला यमि र सुशीला श्रेष्ठ रहेको एक नेताले जानकारी दिए। 

ती नेताका अनुसार जसपाले अब जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइका लागि अभियान समेत चलाउने भएको छ। यस्तै, बैठकले  ११ सय सदस्यीय संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको ती नेताले जानकारी दिए।
 

प्रकाशित मिति: ००:३४ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्