Kathmandu Press

निर्मला पन्त प्रकरण : डिएसपी अंगुर जिसीसहित तीन प्रहरीको निलम्बन फुकुवा

काठमाडौं, असोज २९ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसीसहित तीन प्रहरीको निलम्बन फुकुवा...
निर्मला पन्त प्रकरण : डिएसपी अंगुर जिसीसहित तीन प्रहरीको निलम्बन फुकुवा

काठमाडौं, असोज २९ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसीसहित तीन प्रहरीको निलम्बन फुकुवा भएको छ। 

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) बाट खटिएका डिएसपी जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा भएको हो। निलम्बन फुकुवा भएसँगै उनीहरुलाई काममा फर्किन बाटो खुलेको छ।

निर्मला पन्त हत्याको प्रमाण नष्टको मुद्दामा उनीहरुलाई जिल्ला अदालत, कञ्चनपुरले सफाइ दिएपछि गृह मन्त्रालयले निलम्बन फुकुवा गर्न बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो। डिएसपी जिसीको निलम्बन गृहले फुकुवा गरेको हो भने (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन प्रहरी प्रधान कार्यालयले गरेको हो।

यसअघि जिल्ला अदालतबाट सफाइ पाएलगत्तै डिएसपी जिसीले पुनर्वहालीका लागि गृह मन्त्रालयमा निवेदन दिएका थिए। डिएसपी जिसीसँगै निलम्बनमा परेका डिसपी ज्ञानबहादुर सेठी र सई हरिसिंह धामीले भने अनिवार्य अवकाश लिइसकेका छन्। उनीहरुले निलम्बनमा रहेका बेलाको सेवा सुविधा भने अब दाबी गर्न सक्नेछन्।

निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको आरोपमा गृह मन्त्रालयले ३१ भदौ २०७५ मा सीआईबीका तत्कालीन डीएसपी जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरेको थियो।

यस्तै, पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरेको थियो। एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको हकमा भने मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति: २३:१८ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्