स्वास्थ्य मन्त्रालयले भन्यो- देशभर १२१ भेन्टिलेटर र २८० आईसीयू बेड थपिएका छन्
काठमाडौं, असोज २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १२१ भेन्टिलेटर र २८० आईसीयू बेड थपिएको जनाएको छ।बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता...
काठमाडौं, असोज २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १२१ भेन्टिलेटर र २८० आईसीयू बेड थपिएको जनाएको छ।
बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भेन्टिलेटर र आईसीयू बेडका बारेमा प्रश्न उठेको भन्दै देशभर थपिएका भन्टिलेटर र आईसीयू बेडबारेमा जानकारी दिएका हुन्।
उनका अनुसार साउन २२ गतेको निर्णय अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, भेरी अस्पताल, पोखरा स्वास्थय विज्ञान प्रतिष्ठान, डडेल्धुरा अस्पतालका लागि प्रति अस्पताल ५-५ भेन्टिलेटर र १५-१५ वटा आईसीयू बेड थप्न तीन करोडका दरले बजेट उपलब्ध गराइएको छ।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ भेन्टिलेटर र १० आईसीयू बेडका लागि २ करोड उपलब्ध गराएको गौतमको भनाइ छ। भदौ २१ को कोभिड कोषको निर्णय अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १० भेन्टिलेटर १५ आईसीयू बेड थप्न ५ करोड ७५ लाख र धुलिखेल अस्पतालमा ५ भेन्टिलेटर र १५ आईसीयू बेड थप्न २ करोड ८५ लाख उपलब्ध गराएको उनले जानकारी दिए।
नेपाल प्रहरी अस्पताल महाराजगन्जमा भेन्टिलेटरसहितका २० आईसीयू बेड थप्न ८ करोड ४० लाख निकासा भएको छ।
यस्तै, धनकुटा अस्पताल, पाँचथर अस्पताल, सर्लाही अस्पताल, गौर अस्ताल, नुवाकोट अस्पताल, धादिङ अस्पताल, दमौली अस्पताल, कपिलवस्तु अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल, कालिकोट अस्पताल, अर्खखाँची अस्पताल, कालिकोट र सल्यान अस्पतालमा ४ वटाका दरले भेन्टिलेटर र १० वटाका दरले आईसीयू थप्ने गरी दुई करोडका दरले बजेट उपलब्ध गराएको गौतमले बताए।











