Kathmandu Press

महेन्द्र राम हत्या प्रकरण : सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, एक दर्जन प्रहरीसहित २९ जना घाइते

रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्याको विषयलाई लिएर कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच बुधबार झडप भएको हो। 
महेन्द्र राम हत्या प्रकरण : सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, एक दर्जन प्रहरीसहित २९ जना घाइते

काठमाडौं, असोज २८ :  सर्लाहीमा स्थानीय र प्रहरीबीच झडप भएको छ। असोज २२ गते रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्याको विषयलाई लिएर कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच बुधबार झडप भएको हो। 

दुई टोलबीचका मानिसबीच भएको ढुंगामुढामा महेन्द्रको ढुंगाले लागेर मृत्यु भएको थियो। महेन्द्रको हत्यापछि दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै भएको प्रदर्शनमा झडप भएको हो। प्रदर्शनमा सहभागी कांग्रेस सांसद सिंहका अनुसार १७ जना प्रदर्शनकारी घाइते भएका छन्। झडपमा परी एक दर्जन प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।  

‘मेरै निर्वाचन क्षेत्रका एक जनाको नेकपा कार्यकर्ताले हत्या गरे। अहिलेसम्म उनको शव परिवारलाई देखाइएको छैन। हामीले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग राखेर प्रदर्शन गरेका थियौं। तर, शान्तिपूर्ण प्रदर्शनमा प्रहीले लाठी चार्ज गर्‍यो। २५ राउन्ड टियर ग्यास चलायो,’ सांसद सिंहले काठमाडौंप्रेससँग भने,‘पीडितलाई न्याय दिनुको साटो प्रहरीले सांसदहरुलाई थर्काइरहेको छ।’

प्रहरीले भने घटनामा संलग्न तीन जनालाई पक्राउ गरिसकेको जनाएको छ। आफन्तले मृतकको शव बुझ्न नमानेको प्रहीले जनाएको छ। सांसद सिंहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेकाहरुले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ। मृतकका आफन्तले १० लाख क्षतिपूर्तिको माग गरिरहेका छन्।

प्रकाशित मिति: २१:३८ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्