चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द
स्याङ्जा, असोज २८ : कोरोना भाइरसको संक्रमण बढेपछि चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ।एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना...स्याङ्जा, असोज २८ : कोरोना भाइरसको संक्रमण बढेपछि चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ।
एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको जनाएको छ। मेयर शिवकुमार गिरीले प्रेस विज्ञप्तिमार्फत सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।
उनले कोरोना सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी पूर्णरूपमा अपनाउँदै सचेत रहन नगरवासीमा अपिल गर्दै सङ्क्रमितको उपचारसहित सम्पूर्ण व्यवस्था प्रदेश र सङ्घ सरकारसँग समन्वय र सहकार्य गरी अभिभावकत्व कायम गर्न नगरपालिका तत्पर रहेकाले धैर्य र सुरक्षित रहनसमेत आग्रह गरेका छन्। खाद्यान्न र औषधि पसलबाहेकका बजार क्षेत्रका सबै पसलका साथै वडा कार्यालयमा समेत सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने क्रममा ३९ जनाको स्वाब सङ्कलन गरिएकामा १४ जनामा सङ्क्रमण देखिएपछि अन्यको पनि स्वाब सङ्कलन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
सङ्क्रमण देखिएका १० पुरुष र चार महिलामध्ये १३ जनाको कालिका सामुदायिक अस्पताल हेलुमा र एक जनाको पोखरामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताए। (रासस)