महोत्तरीको आठ सञ्चारकर्मीमा कोभिड–१९ पुष्टि
महोत्तरी, असोज २७ : महोत्तरीमा कोभिड–१९ संंक्रमण पुष्टि भएका सञ्चारकर्मीको संख्या आठ पुगेको छ। आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि...महोत्तरी, असोज २७ : महोत्तरीमा कोभिड–१९ संंक्रमण पुष्टि भएका सञ्चारकर्मीको संख्या आठ पुगेको छ। आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि यो संख्या आठ पुगेको हो। यसअघि नै चारजनामा संक्रमण पुष्टि भएको थियो।
आज संक्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन्। निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आफूमा कोभिड–१९ संक्रमण पुष्टि भएको बताए। चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा संक्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिए। सम्बन्धित चारैजना आफैँले यसको पुष्टि गरेका छन्।
यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पीसीआर परीक्षणबाट कोभिड–१९ संक्रमण पुष्टि भएपछि अहिले ‘होमआइसोलेसन’मा छन्। गोपालको गत बिहीबार र सुनिताको गत शनिबार संक्रमण पुष्टि भएको हो। यसैगरी अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो। यद्यपि महतो र मण्डल दुवै संक्रमणमुक्त भइसकेका छन्। महतोमा असोज–१० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट संक्रमण पुष्टि भएको थियो। जिल्लाका यी सबै सञ्चारकर्मीले बर्दिवास अस्पतालमा स्वाब परीक्षणका लागि दिएका हुन्।
महोत्तरीमा पछिल्लोपटक एकजना नगरप्रमुखमा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ। जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा सोमबार अबेर राति कोभिड–१९ संक्रमण पुष्टि भएको हो। नगरप्रमुख साह आफैँले सोमबार अबेर राति आफ्नो पीसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका हुन्। महोत्तरीमा हालसम्म एक हजार ६०३ मा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। यहाँ १५ जनाको कोभिड–१९ संक्रमणले ज्यान गएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।