विशाल ग्रुपको स्वार्थमा सरकार, ५ महिनादेखि रोकेको विदेशी रक्सी आयात फेरि खुला
‘सरकारले विदेशी मुद्रा सञ्चितिका लागि आयात रोक्ने भन्यो। हामीले सुरुमा पत्याएका थियौँ। तर, सरकारको निर्णयमा त विशाल ग्रुपको स्टक विक्री गर्ने स्वार्थ जोडिएको रहेछ अहिले स्टक सकिएपछि उसकै पहलमा फेरि आयात खुला गरिएको छ,’ ती आयातकर्ताले भने।
काठमाडौं, असोज २६ : सरकारले विशाल ग्रुपको स्वार्थका लागि ६ महिनादेखि रोक लगाएको विदेशी मदिरा आयात फेरि खुला गरेको छ।
विशाल ग्रुप लगायत विदेशी मदिरा आयात गर्ने कम्पनीले गत चैत दोस्रो साताअघि भित्र्याएको मदिरा विक्रीका लागि आयात रोकेको सरकारले त्यस ग्रुपको स्टक सकिएसँगै मदिरा आयात फेरि खुला गरेको हो।
कोरोनाका कारण गहिरिँदो आर्थिक संकट टार्न मुद्रा बाहिरिन नदिन मदिरा आयातमा रोक लगाउनुपर्ने भन्दै सरकारले गत चैत ११ गते मदिरा आयातमा रोक लगाउने निर्णय गरेको थियो। र, सोही अनुसार बजेटमा पनि उक्त व्यवस्था गरिएको थियो।
तर, विशाल ग्रुपको स्टक विक्री गर्ने रणनीति अन्तर्गत सरकारी निर्णय आएको र अहिले दशैंका कारण मदिरा विक्री हुने र विशाल ग्रुपको स्टक पनि समाप्त भएपछि सरकारले मदिरा आयात खुलाउने निर्णय गरेको एक आयातकर्ताले काठमाडौंप्रेसलाई बताए।
‘सरकारले विदेशी मुद्रा सञ्चितिका लागि आयात रोक्ने भन्यो। हामीले सुरुमा पत्याएका थियौँ। तर, सरकारको निर्णयमा त विशाल ग्रुपको स्टक विक्री गर्ने स्वार्थ जोडिएको रहेछ अहिले स्टक सकिएपछि उसकै पहलमा फेरि आयात खुला गरिएको छ,’ ती आयातकर्ताले भने।
विशाले ग्रुपको ग्लोबल ट्रेडिङ कन्सर्नबाट नेपालमा जोनीवाकर ब्रान्डका मदिरा भित्रिने गरेका छन् भने यती ब्रुअरीमार्फत विदेशी वियर भित्रिने गरेको छ। नेपालमा मदिरा आयातमा सबैभन्दा ठूलो हिस्सा विशाल ग्रुपकै छ। लकडाउनको अवधिमा मात्रै यस ग्रुपले ३० करोड बराबरको स्टक बेचेको बताइएको छ।
विशाल ग्रुप अन्तर्गतको ग्लोबल ट्रेडिङका आशिष अग्रवालले सरकारले विशाल ग्रुपलाई लाभ पुग्ने गरी मात्रै निर्णय गरेको तर्क सही नभएको बताए। ‘अरु कम्पनी भन्दा केही बढी स्टक भएकाले लकडाउनका समयमा अलिकति बढी बेचियो होला तर मदिरा आयात खुला गर्न त सबैले माग गर्नु भएको थियो आयात खुलाको निर्णय त सबैको हितमा छ,’ अग्रवालले भने।
यो बाहेक सारडा ग्रुप, सहारा ट्रेडर्स अलाइन्स पनि मदिरा आयात गर्ने कम्पनीहरु हुन्। तर, मदिरा आयातमा विशाल ग्रुपकै रजगज छ।
मदिरा आयात गर्ने अन्य कम्पनीहरुले समेत सरकारलाई निश्चित समूहलाई फाइदा पुग्ने निर्णय तत्काल खारेज गरेर आयात फुकुवा गर्न बारम्बार ध्यानाकर्षण गराएका थिए। चाडपर्वको मुखमा आयात खुला नगरिए तस्करी बढ्ने र त्यसले व्यवासायीसहित राज्यलाई ठूलो धक्का पुग्ने व्यवसायीहरुले बताउँदै आएका थिए।
‘हामीले चाडपर्वका समयमा मदिरा आयात खुला नगरिए राज्यलाई समेत घाटा हुने बताउँदै आएका थियौँ। तर, एउटा समूहको स्वार्थ अनुसार अन्तिम समयमा सरकारले आफ्नो कदम चाल्यो,’ सारडा ग्रुपका गौरव सारडाले भने।
यता सरकारले भने राजश्व कम संकलन भएका कारण कर्मचारीलाई पैसा समेत खुवाउन अप्ठ्यारो परेपछि मदिरा तथा विलासी गाडी आयात खुला गरिएको बताएको छ। उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगढ सरकारको निर्णयमा व्यापारी स्वार्थ नगाँसिएको बताउँछन्।
‘सरकारले कसको माल कति विक्री हुन बाँकी छ भनेर हेर्दैन। विशाल वा अन्य कुनै समूहलाई फाइदा पुर्याउने अभिप्रायले यो निर्णय भएको होइन। कम राजश्व संकलन भएको अवस्थामा राजश्व बढाउन यो निर्णय गरिएको हो,’राज्यमन्त्री दुगढले काठमाडौंप्रेससँग भने।
सरकारले एक बोतल मदिरामा दुई हजार रुपैयाँ अन्तशुल्क अशुल्छ भने ८० प्रतिशत भन्सार असुल्छ। यसले राजश्व वृद्धिमा निश्चय पनि सहयोग पुर्याउने देखिन्छ तर निश्चित समूहको स्टक क्लियरेन्स पछि खुलाउने निर्णयले सरकारको नियतमा पनि प्रशस्तै प्रश्न उठाइरहेको छ।
विदेशी मदिरा आयात रोक्ने सरकारी निर्णसँगै नेपालमा बन्द भएका केही मदिरा उद्योग सञ्चालनमा आएका थिए भने केहीले नयाँ उत्पादन समेत सुरुवात गरेका थिए। सरकारी निर्णयसँगै स्वदेशी ९५ वटा मदिरा उद्योगको व्यापारमा असर पर्ने देखिएको छ भने पैसा पनि बाहिरिने भएको छ। पछिल्लो तीन वर्षमा मात्रै मदिरा आयातमा ३ अर्ब रुपैयाँ बाहिरिएको देखिन्छ।
आर्थिक वर्ष २०७४-७५ मा ५ लाख ६४ हजार ९ सय ४१ लिटर मदिरा आयात हुँदा ९० करोड १० लाख ५० हजार रुपैयाँ बाहिरिएको थियो। यस्तै, आर्थिक वर्ष २०७५-७६ मा ६ लाख ३९ हजार लिटर मदिरा आयात हुँदा १ अर्ब १४ करोड रूपैयाँ बाहिरिएको थियो भने आर्थिक वर्ष २०७६-७७ मा ४ लाख ९३ हजार लिटर मदिरा आयात हुँदा ८८ करोड ३५ लाख रुपैयाँ बाहिरिएको छ।
मदिरा आयातको विषयमा मात्रै होइन सरकारले विशाल ग्रुपलाई फाइदा पुग्ने गरी चकलेटमा समेत अन्तशुल्क घटाएको थियो। यस्तै, म्याद गुज्रिएको सामानमा नयाँ लेबलिङ गर्दै बजारमा पठाउन सक्रिय यो समूहको कसूर अनुसार सजाय भने निकै न्यून तोकिएको थियो।




-1791956922.jpg)




-1791956922.jpg)

