Kathmandu Press

सप्तरीमा प्रदेश सभा सदस्यसहित २७ लाई संक्रमण

सप्तरी, असोज २६ : सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा संक्रमण...
सप्तरीमा प्रदेश सभा सदस्यसहित २७ लाई संक्रमण

सप्तरी, असोज २६ : सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन्।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए। कोरोना संक्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए।

त्यस्तै, अन्य २६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। नयाँ संक्रमितमा रुपनी गाउँपालिका एक जनप्रतिनिधि र तीन जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका चार जना कर्मचारीसहित राजविराजका नौजना संक्रमण देखिएको छ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीका छोरा, श्रीमती र आमा, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना युवकलाई संक्रमण देखिएको छ। स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीमा पाँच दिन अघि संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म एक हजार चार सय एकजना कोरोना संक्रमण देखिएको छ। उनीहरुमध्ये एक हजार एक सय १२ जना निको भएका छन्।

अहिलेसम्म कोरोना संक्रमणबाट सप्तरीमा २१ जनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: १६:०४ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्