पर्सामा १० प्रतिशत धानबालीमा कीराको प्रकोप
पर्सा, असोज २५ : लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका पर्साका किसानले यस वर्ष लगाएको १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप देखिएको...
पर्सा, असोज २५ : लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका पर्साका किसानले यस वर्ष लगाएको १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप देखिएको छ। जिल्लाको ग्रामीण भेगमा लहलहाउँदो धानको बाला देखेर हर्षित किसान युरिया मलको अभाव हुँदा धानमा बाला लाग्ने समयमा गबारो, फड्के र घोक्रे कीराको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादन घट्ने किसान विजय पण्डितले बताए।
बारा जिल्ला, गडहल गाउँमा २२ कठ्ठा जग्गामा धान खेती गर्दै आएका किसान पण्डितले कीराको प्रकोपका कारण धान सुकेर पहेँलो देखिएकाले यस वर्ष धान उत्पादनमा कमी आउने चिन्ताले सताएको बताए।
पर्सा जिल्लाका किसानले भारतीय तथा सिफारिस गरिएको धान लगाएका कारण कीराको बढी प्रकोप भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले बताए। रोगका कारण धान फले पनि दाना नलागेको, पात पहेँलो देखिएको जस्ता लक्षणको कारण यस पालि यस्तो समस्या आएको र रोग नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
रोग र कीराको प्रकोपका कारण धानको बालामा दाना नलाग्ने, बोट कुहिने र पात पहेँलो भएर सुक्ने समस्या देखिएको छ। पर्सा जिल्लामा यस वर्ष किसानले ४६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरेका छन्।
यसैबीच धानखेतीलाई अत्यावश्यक युरिया मलको तीन महिनादेखि अभाव देखिएपनि कात्तिक मसान्तभित्र आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ। सरकारी स्वामित्वमा रहेको सो कम्पनीले बङ्गलादेशबाट सापटीमा नेपाल सरकारले ल्याउन लागेको ५० हजार मेट्रिक टन युरिया ढुवानीका लागि बोलपत्र स्वीकृति भइसकेकाले कात्तिकभित्र आइपुग्ने प्रादेशिक कार्यालय प्रबन्धक गोरखनाथ केसीले बताए।
उनले बङ्गलादेशबाट नेपालका लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार आउने छ।
चालु आर्थिक वर्षको साउन महिनादेखि युरिया मलको अभावको कारण धान खेतीमा रोग कीरा लाग्न थालेको किसानको भनाइ छ। सो कार्यालयले धान खेतीलाई लक्ष्य गरी जिल्लामा असारसम्म युरिया मल बिक्री गरेको थियो तर मल सकिएकाले सोको अभाव हुन गएको हो। सो कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, वाग्मती र गण्डकीका १६ कार्यालयमा पठाउँदै आएको छ। यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७६।०७७ मा युरिया ६ हजार टन, डिएपी ६ हजार टन र पोटास ७०० टन बिक्री गरेको छ।
गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ्ग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरियाको अभाव देखिएको हो। मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र आह्वान गरिसकेको छ।
समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने धानखेती मात्र नभएर मकै, मसुरोलगायत बर्खेबाली खेती प्रभावित हुने गरेको किसानको भनाइ छ।




-1780224249.jpg)






-1779863931.jpg)
