Kathmandu Press

एक महिनामै ५० हजारमा कोरोना देखिँदा देशभर संक्रमितको संख्या एक लाख नजिक

नेपालमा काेराेना देखिएकाे नाै महिनापछि संक्रमितकाे संख्या एक लाखनजिक पुगेकाे छ। अघिल्ला आठ महिनाभन्दा पछिल्लाे एक महिनामा बढी संक्रमित थपिए।
एक महिनामै ५० हजारमा कोरोना देखिँदा देशभर संक्रमितको संख्या एक लाख नजिक
हिमाली र पहाडी क्षेत्रभन्दा तराइ र ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा संक्रमित बढी देखिएका छन्। तस्बिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, असोज २३ : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाखनजिक पुगेको छ। पछिल्लो एक महिनामा ५० हजार जनामा कोरोना देखिँदा संक्रमितको संख्या एकाएक बढेको हो।

नेपालमा पहिलो पटक गत माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। चीनबाट फर्केका विद्यार्थीमा संक्रमण देखिएपनि फैलिन पाएको थिएन्।

त्यसपछि चैतमा फ्रान्सबाट आएका अर्का विद्यार्थीमा संक्रमण देखिएको थियो। त्यतिवेला पनि संक्रमण फैलिन पाएको थिएन्।

भारतमा संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन लगाएको थियो। झण्डै चार महिना लामो लकडाउनमा कोरोना संक्रमण तिव्र रुपमा नबढेपनि नियन्त्रण पनि भएको थिएन। त्यसपछि सरकारले असार अन्तिम सातादेखि लकडाउन खुकुलो पार्दै ल्याएको थियो।

त्यसपछिका दिनमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ध्यान नदिँदा कोरोना संक्रमण फैलिन थालेको हो। साउन र भदौमा संक्रमितको संख्या अघिल्ला ६ महिनाको भन्दा ज्यादा देखिएको थियो।

तथापि, पछिल्लो एक महिनामा भने तिव्र रुपमा संक्रमण फैलिएको छ। अघिल्ला आठ महिनाभन्दा पछिल्लो एक महिनामा धेरै संक्रमित थपिएका छन्।

भदौ २३ गतेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार एक सय ३८ रहेको थियो। तर, त्यस यताको एक महिनामा ५० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, आज मध्याह्नसम्म संक्रमितको संख्या ९८ हजार ६ सय १७ रहेको छ। जबकी एक महिना अघि भदौ २३ मा ४८ हजार एक सय ३८ रहेको थियो। यो एक महिनामा ५० हजार चार सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।

झन पछिल्लो एक सातामा १६ हजार एक सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। दैनिक औषत दुई हजार तीन सयका दरले संक्रमित पुष्टि भएका छन्।

बिहीबार त चार हजार तीन सय ६४ संक्रमित थपिएका थिए। यो दैनिक पुष्टि भएका संक्रमितको सर्वाधिक संख्या हो।

नेपालमा अहिलेसम्म देखिका ९८ हजार एक सय १७ संक्रमितमध्ये ७१ हजार तीन सय ४३ जना निको भएका छन्। त्यस्तै, कोरोनाबाट पाँच सय ९० जनाले ज्यान गुमाएका छन्। पछिल्लो समय संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ।

 

प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्