कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा चार जनाको मृत्यु
धरान, असोज २३ : कोरोना भाइरसको संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत चार जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट सुनसरीका तीन र...
धरान, असोज २३ : कोरोना भाइरसको संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत चार जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट सुनसरीका तीन र झापाका एक जनाको ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए। उनका अनुसार इटहरी–६ का ६८ वर्षीय र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।
इटहरीका संक्रमितलाई ज्वरोसँगै श्वासप्रश्वासमा आएपछि असोज २२ गते अस्पताल भर्ना गरिएको थियो। उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।
यसैगरि दुहबीका संक्रमित असोज १२ गते भर्ना भएका थिए। उनलाई पनि अस्पताल भर्ना भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मिर्गौला रोगबाट पीडित थिए।
त्यस्तै, धरान उपमहानगरपालिका–८ का ४६ वर्षीय पुरुष र झापाको दमक नगरपालिका–१ का ५२ वर्षीय संक्रमितको शुक्रबार मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले बताए। धरानका संक्रमित उच्च रक्तचापबाट पीडित थिए। उनको आकस्मिक कक्षमा उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको श्रेष्ठले बताए।
यसैगरि, दमकका संक्रमित असोज १८ गते कोभिड अस्पताल भर्ना भएका थिए। उनमा कुनै दीर्घ रोग नदेखिएको प्रतिष्ठानले जनाएको छ। प्राविधिक कारणले धरान र झापाका संक्रमितकाे मृत्युबारे जानकारी दिन ढिलाइ भएकाे उनले बताए।











