Kathmandu Press

पार्टी एकताको बाँकी काम असोजभित्रै सक्ने ओली-प्रचण्डबीच समझदारी

काठमाडौं, असोज २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका बाँकी काम असोजभित्रै सम्पन्न...
पार्टी एकताको बाँकी काम असोजभित्रै सक्ने ओली-प्रचण्डबीच समझदारी
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। फाइल तस्वीर।

काठमाडौं, असोज २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका बाँकी काम असोजभित्रै सम्पन्न गर्ने समझदारी बनेको छ। 

बालुवाटारमा बिहीबार भएको छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताका काम असोजभित्रै सक्ने समझदारी बनेको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले बताए। एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको २७ महिना भएपनि अझै एकताले पूर्णता पाउन सकेको छैन। 

गत असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र अध्यक्ष ओली र प्रचण्डसहित महासचिव विष्णु पौडेललाई एकताको खाका तयार गर्न दिएको थियो। तर, दिएको समयभित्र एकताका काम सक्ने विषयमा कुनै पनि प्रस्ताव तयार हुन सकेन।

भेटमा दुई अ‍ध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठनबारे पनि छलफल गरेका थिए। प्रधानमन्त्री तथा अध्यक्ष ओलीले रिक्त मन्त्रालयमा अहिले केहीलाई नियुक्ति गर्दै मन्त्रिपरिषद् पुनर्गठनको विषय तिहारपछि टुंगो लगाउने प्रस्ताव राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको प्रस्तावमा अध्यक्ष प्रचण्ड भने सहमत भइसकेका छैनन्।

प्रकाशित मिति: २१:५४ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्