जाजरकोट जीप दुर्घटना : मृत्यु हुनेको संख्या सात पुग्यो
खलंगा, असोज २२ : जाजरकोटमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। दुर्घटनामा परेका जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको...
खलंगा, असोज २२ : जाजरकोटमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।
दुर्घटनामा परेका जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव बिहीबार भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिए।
सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका–१, औलखोलामा दुर्घटना हुँदा जुनीचाँदे गाउँपालिका–११ का वडाअध्यक्ष अमरबहादुर शाहीसहित ६ जनाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको बुधबार नै मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा घाइते भएका जुनीचाँदे गाउँपालिका–११ का नरबहादुर बुढाको सुर्खेतमा उपचार भइरहेको छ।











