Kathmandu Press

२२ सम्पादकले सरकारसँग भने, ‘डा.केसीसँग अबिलम्ब सार्थक वार्ता गर’

काठमाडौं, असोज २२ : विभिन्न सञ्चार माध्यमका २२ जना सम्पादकहरुले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता थाल्न सरकारसँग माग गरेका छन्...
२२ सम्पादकले सरकारसँग भने, ‘डा.केसीसँग अबिलम्ब सार्थक वार्ता गर’

काठमाडौं, असोज २२ : विभिन्न सञ्चार माध्यमका २२ जना सम्पादकहरुले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता थाल्न सरकारसँग माग गरेका छन् ।

बुधबार साँझ बिभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले एक संयुक्त वक्तव्य जारी गर्दै डा. केसीको जीवन बचाउनु भनेको जनस्वास्थ्य बचाउने उत्तरदायित्व अन्तगतकै कार्य भएको भन्दै सरकारसँग अबिलम्ब सार्थक वार्ताका लागि पहल गरेका हुन् । विश्वव्याधि कोरोना भाइरस संक्रमणका उत्पन्न कोभिड १९ ले हाम्रो देश पनि जेलिएका बेला डा. केसीको सत्याग्रह चलिरहेको छ’ सम्पादकहरुको वक्तव्यमा भनिएको छ, ‘सत्याग्रही केसीले यो १९ औं अनशनका क्रममा उठाएका मागहरू सरकारले सम्बोधन गर्न चाहेका राष्ट्रिय सरोकारसँग समेत जोडिएका छन् ।’

सरकारले वार्ताको थालनी गरेको भनिए पनि सार्थक वार्ता अहिलेसम्म सुरु नभएको भन्दै सम्पादकहरुले तत्काल सार्थक वार्ता सुरु गर्न सरकारसँग आग्रह गरेका छन् । जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘अभिभावकीय जिम्मेवारी लिँदै सरकारले डा. केसीसँग उच्च तहबाट अविलम्ब वार्ता थाल्नुपर्छ ।’ आफूहरुले सामूहिक वक्तव्य जारी गर्दै गर्दा वार्ता टोली बनेको खबर बनेको आएको र उक्त वार्ताटोली निर्णायक म्यान्डेटसहित सार्थक अग्रसरता तुरुन्तै देखाउनुपर्ने सम्पादकहरुको भनाइ छ ।

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरुमा अखिलेश उपाध्याय, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, बसन्त बस्नेत, राजन पोखरेल, राजेन्द्र दाहाल, शिव गाउँले, सन्जीव सतगैंया, सुधीर शर्मा, सुभाष घिमिरे, हरिबहादुर थापा र युवराज घिमिरे छन् ।

यसैबीच सरकारले हिजो साँझ नै आमरण अनशनमा बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। 

प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्