जाजरकोट जीप दुर्घटना : वडाध्यक्षसहित ६ जनाको मृत्यु (अपटेड)
खलंगा, असोज २१ : जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज...
खलंगा, असोज २१ : जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार दिउँसो जुनीचाँदे गाउँपालिका–१, औलखोला नजिक दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृति बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ का मालिका बस्नेत, २८ वर्षीय कृष्ण बहादुर शाही र ३० बर्षीय खिमबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिए। दुर्घटनामा मृत्यु भएका एक जनाको पहिचान नखुलेको उनले बताए।
दुर्घटनामा घाइते भएका जुनीचाँदे गाउँपालिका–११ का नरबहादुर बुढालाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको छ। जीपमा कति जना सवार थिए भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।











