अनशनरत डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति
सरकारले आमरण अनशनमा बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ।
काठमाडौं, असोज २१ : सरकारले आमरण अनशनमा बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ।
डा. केसीसँग वार्ता गर्न बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।
वार्ता समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन्।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै डा. केसी २४ दिनदेखि अनशनमा छन्। डा. केसीको स्वास्थ्य जटिल हुँदा पनि सरकारले वार्ता गर्न कुनै चासो नदेखाएको भन्दै चर्को आलोचना हुँदै आएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले तत्काल डा. केसीका माग सम्बोधन गरे अनशन तनोडाउन सरकारको ध्यानाकर्षण गराएको छ।
यस्तै, डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। संघले आफूले सरकारलाई डा. केसीका माग सम्बोधन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि बिहीबारदेखि अन्दोलनमा उत्रिने घोषणा गरेको हो।
संघले बिहीबार ९ बजेदेखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने जनाएका छन्। देशभरका अस्पतालमा धर्ना दिँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरिने संघले जनाएको छ।
यस्तै, भोलिदेखि नै संघका शाखा कार्यालय र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दूरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाएर अर्को सूचना नआएरसम्म कालोपट्टी बाँधेर रिले अनसन गरिने महासचिव डा. बद्री रिजालले जानकारी दिए।
यस्तै, डा. केसीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नबनाए असोज २३ गते एक दिनका लागि देशैभरका स्वास्थ्य दसंस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय संघले गरेको महासचिव रिजालले बताए।
संघले घोषणा गरेका विरोधका कार्यक्रमबाट उत्पन्न हुन सम्ने गम्भीर परिस्थितिप्रति सरकार आफैँ जिम्मेवार हुने चेतावनी दिएको छ।











