यो साता सेयर बजार के होला ?
काठमाडौं, वैशाख १४ : गत साता नेप्से परिसूचक १२३२ दशमलब २६ बिन्दुमा खुलेको थियो भने १२९६ दशमलब ९२ को ‘इन्ट्राडे’ उच्च बिन्दु बना....
काठमाडौं, वैशाख १४ : गत साता नेप्से परिसूचक १२३२ दशमलब २६ बिन्दुमा खुलेको थियो भने १२९६ दशमलब ९२ को ‘इन्ट्राडे’ उच्च बिन्दु बनाएको थियो । त्यस्तै, न्यून बिन्दु १२३० दशमलब २२ थियो। यो अघिल्लो साताभन्दा ५९ दशमलब ८६ अंक अर्थात ४ दशमलव ८५ प्रतिशतको वृद्धि हो। गत साता पाँच दिन कारोबार भएको थियो र ५ अर्ब ५८ लाख बराबर रकमको कारोबार भएको छ।
प्राविधिक बिश्लेषण:
चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति
विगत १० महिनादेखि बजारको उतारचढाव कस्तो रह्यो भन्ने हेर्न चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरु प्रयोग गरिएको छ । अघिल्लो साप्ताहिक बिश्लेषण अनुसार बजारले फलिङ्ग वेजेजको आकृति पूर्ण भएवापत बजार बढेको थियो । यो आकृतिले दिने बढ्दो बजारको न्यूनतम लक्ष्य पनि हासिल गरिसकेको छ । २०० एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा बजारको प्रवृत्ति माथि रहेको छ । यो ईएमएभन्दा बजार माथि स्थिर रहेमा नेप्से अझ सकारात्मक हुन सक्ने संकेत गर्दछ।
चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२ दैनिक मैनबत्ती चार्टको हो। यसको प्रवृत्तिले गत ८ सातादेखि नेप्सेले ११०० मा टेवा प्राप्त गरेपछि बजारले एक पछि अर्को प्रतिरोध क्षेत्रलाई तोड्न सफल भएको र बजार बढ्दो प्रवृत्तिमा रहेको छ। हाल बजारले १३०० को मनोबैज्ञानिक प्रतिरोध, जुन एउटा मुख्य प्रतिरोध पनि हो, त्यसलाई सामना गर्नु पर्ने देखिएको छ ।
५० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजभन्दा बजारको प्रवृत्ति माथि रहेकोले बजार बढ्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ८४ दशमलब ६३ अंकमा रहेको छ। यसको प्रवृत्तिले शेयर बढी खरिद भएको संकेत गरे पनि हालसम्म बजार सच्चिहाल्ने संकेत भने गरेको देखिँदैन । डाइरेक्सनल मुभिङ एभरेजले बजारमा क्रेताहरुको चाप तीव्र रुपमा बढी रहेको जनाएको छ। यो साता पनि पाँच दिनको मैनबत्तीहरुलाई समग्र रुपमा हेर्दा बुलिस मारुबोजु आकृति बनाएको देखिन्छ। यसले बजार अझ केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ।
निष्कर्ष
नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार हाल अत्यन्तै सकारात्मक देखिएको भए पनि हाल बजार मुख्य प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ । प्राविधिक विश्लेषणअनुसार यो क्षेत्रमा लगानिकर्ताहरुले नाफा सुनिश्चित गर्न सक्ने सम्भावना रहेकोले लगानीकर्ताहरु केही सजग रहनुपर्ने देखिन्छ । बजारले चित्र नं. २ मा देखिएबमोजिम माथिल्लो प्रवृत्ति रेखा अर्थात प्रतिरोध रेखालाई निश्चित रुपमा तोड्न सके बजार अझ केही सकारात्मक हुनसक्ने सम्भावना रहन्छ । त्यस्तै गरी हाल बजारको तत्कालीन टेवा १२५० मा रहेको देखिन्छ।