Kathmandu Press

डा. केसीलाई नेकपाको आग्रह- सम्झौता कार्यान्वयनको चरणमा छन्, अनशन फिर्ता लिनुस् 

काठमाडौं, असोज २० : नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले अनशरत डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले...
डा. केसीलाई नेकपाको आग्रह- सम्झौता कार्यान्वयनको चरणमा छन्, अनशन फिर्ता लिनुस् 
नेकपाको सचिवालय बैठकमा सहभागी नेताहरू। फाइल तस्वीर।

काठमाडौं, असोज २० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले अनशरत डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। 

बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले सरकाले डा. केसीसँग गरेका अधिकांश सम्झौता कार्यान्वयनको चरणमा गएको र बाँकी रहेका विषय क्रमश कार्यान्वयनमा लैजाने भन्दै महामारीको परिस्थितिलाई मध्यनजर गर्दै अनशन फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले उठाएका जायज मागको सम्बोधन गर्न गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराएको प्रवक्ता श्रेष्ठले बताए। ‘सरकारले गरेका कतिपय सम्झौता कार्यान्वयनको चरणमा छ भने कतिपय कार्यान्यवन भइसकेका छन्। कार्यान्वयन गर्न बाँकी विषयमा गम्भीर हुन सरकारलाई हामीले ध्यानाकर्षण गराउनुका साथै डा. केसीलाई अनशन अन्त्य गर्न पनि सचिवालय बैठकले आग्रह गरेको छ,’श्रेष्ठले भने।

यस्तै, सचिवालय बैठकले प्रदेश पाँचको राजधानी र नामांकन प्रदेशसभाले संवैधानिक अधिकारको उपभोग गर्दै निर्धारण गरेको ठहर गरेको छ। नामांकन र राजधानी स्थानान्तरणका क्रममा प्रदेशसभाभित्र र बाहिर भएका घटना निन्दनीय रहेको नेकपाको ठहर छ।

बैठकमा राजदूत नियुक्तिका विषयमा पनि सामान्य छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। सचिवालयको अर्को बैठक भने तय भइसकेको छैन।

प्रकाशित मिति: ००:२९ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्