Kathmandu Press

काठमाडौंमा कोरोनाको संक्रमणले डरलाग्दो अवस्था निम्तन सक्छ : विज्ञ

सरकारले कारोनाको सक्रिय संक्रमित २५ हजार नाघे फेरि बन्द गर्ने भनिएबाट सरकारसँग अब त्यती मानिसलाई मात्र उपचार गर्ने क्षमता रहेको सन्देश दिइसकेको छ । यस्तो अवस्थामा जनता आफै सजक भएर हिँड्नु पर्छ।
काठमाडौंमा कोरोनाको संक्रमणले डरलाग्दो अवस्था निम्तन सक्छ : विज्ञ

काठमाडौं, असोज २० : काठमाडौं उपत्यकामा कोरोना संक्रमण उकालो यात्रामा छ। पछिल्ला केही दिन यता मात्रै दैनिक एक हजार भन्दा धेरै संक्रमित भेटिने गरेका छन्। खासगरी सरकारले लकडाउन खोल्ने निर्णय गरेसँगै उपत्यकामा कोरोना संक्रमण बढ्न थालेको हो।  

उपत्यकामा कोरोना संक्रमणको ग्राफ बढेसँगै विज्ञहरु सरकार र नागरिक दुवैको कमजोरीका कारण अहिलेको अवस्था आइपुगेको बताउँछन्। उनीहरु काठमाडौंमा जुन हिसाबले कोरोना फैलिरहेको छ, यसले डरलाग्दो अवस्था ल्याउन सक्ने बताउँछन्।  प्रस्तुत छ, काठमाडौंप्रेसले विज्ञहरुसँग गरेको कुराकानीको सम्पादीत अंश :

डा. भगवान कोइराला 
अध्यक्ष, नेपाल मेडिकल काउन्सिल 

कोरोना फैलनु नयाँ कुरा होइन। कोरोना कसरी फैलन्छ भन्ने कुरामा हामी पहिलेदेखि नै जनाकार थियौँ। यस विषयमा सर्वसाधारण र सरकार दुवै सजग भएनन्। त्यसैले कोरोना फैलनेबाहेक अरु कुनै विकल्प थिएन। अहिले कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्नु पनि यसैको कारण हो।   

काठमाडौंमा मानिसहरु जन्ती जस्तै हिँडिरहेका छन्। खुला स्थानमासमेत मानिसहरुको भिड देख्न पाइएको छ। पसलहरुमा पनि भिडभाड नै छ। सपिङ सेन्टरमा मानिसहरु मास्क नलगाई टासिएर लाइन बसेका छन्। दशैँ–तिहारका लागि सपिङ गरिरहेका छन्। 

मैले के भन्न खोजेको भने, सर्वसाधारण अहिले पनि अनुशासित भएको पाइएन। सरकारले पनि कोरोना नियन्त्रणका लागि केही गर्न सकेन। सरकारले लकडाउन खोल्यो। खोलिसकेपछि व्यापार व्यवसाय गर्दा केही नियमहरु तोकेको थियो। तर ती नियम कार्यान्वयन हुन सकेनन्। कार्यान्वयनमा सरकारले ध्यान दिएन। सर्वसाधरणले  जनस्वास्थ्यका मापदण्ड पुरा गरेनन्। भनेपछि हामी अब दुर्दशा भोग्नपट्टि गइरहेका छौं। 

सरकारी उच्च पदस्त अधिकारी, पढे लेखेका जिम्मेवार मानिसहरु संक्रमित हुनुको पछाडि उहाँहरुमा पनि सतर्कताको कमी देखियो। कोरोना संक्रमण फैलनुको मुख्य कारण जनस्वास्थ्य मापदण्ड पालना नहुनु नै हो। 

मानिसहरुले कमसेकम नियम पालनामात्र गरेको भएपनि कोरोना फैलने सम्भावना निकै कम हुन्थ्यो। हामी नियमको पालना गर्नुपर्छ भन्छौँ, तर गर्दैनौँ। मानिसहरु अरुलाई यो गर्नु पर्छ, यो गर्नु हुँदैन भनेर अर्तीउपदेश दिने तर आफु भने अंगालो मार्दै हिड्ने खालका मानिसहरु पनि प्रसस्तै छन्। दशैँ नजिकिँदै छ, कोरोना संक्रमण अझ बढी फैलने सम्भावना पनि बढी नै छ। 

सरकारले नागरिकहरुलाई गैरजिम्मेवार हुनबाट जोगाउनलाई केही न केही उपाय अपनाउनै पर्छ। यसका लागि सरकारले कुनै न कुनै कडा निर्णय गर्नै पर्छ। किनभने अहिलेको  दशैंमा हामीले टिका नलगाए केही हुँदैन, तर रोग स¥यो भने आफुसँगै आफ्ना आफन्तलाई समेत प्रभाव पार्छ। अहिले काठमाडौंमा जुन हिसाबले कोरोना फैलिरहेको छ, यसले डरलाग्दो अवस्था ल्याउन सक्छ। त्यसैले सबैजना सजग हुन आवश्यक छ। 

डा. शेरबहादुर पुन
वरिष्ठ सरुवा रोग विशेषज्ञ

लकडाउन खुलेपछि मानिसको आवतजावत बढी भएर पनि काठमाडौंमा कोरोना संक्रमण फैलिएको हो। यस्तै राजनैतिक तरलता, भेटघाटमा तीव्र्रता, व्यावसायिक कामकाजलगायतले पनि कोरोना फैलिएको हुनसक्छ। किनभने कोरोना सर्ने माध्यम भनेकै मानिसहरु हुन्। अहिले विशेष गरी लक्षण नभएका मानिसहरुले नै कोरोना सार्ने गरिरहेका छन्।

लकडाउन खुलेपछि बढी संक्रमित भएका जिल्लाहरुबाट धेरै मानिसहरु काठमाडौं आएका छन्। उनीहरु प्रायः फुटपाथ व्यापारी थिए। उनीहरुसँग सामान, फलफुल किन्दा मानिसहरुले मास्क खोलेरै कुरा गर्छन्। कोरोनाबाट बच्ने उपायमा कतै न कतै कमजोरी भएर नै कोरोना संक्रमण बढेको हो। 

स्वास्थ्यकर्मीहरुले कोरोनाबाट बच्ने उपायहरु अपनाउन सबैमा आग्रह गरेका छन्। तर त्यो त्यती प्रभावकारी बन्न सकेको छैन। त्यसैले सबै मिलेर यसबाट बच्ने उपायका बारेमा प्रचार गर्नुपर्छ। 

कतिपय मानिसहरु कोरोनाबाट मर्नेहरु भन्दा बढी अन्य रोगका कारण मर्नेको संख्या धेरै छ, भनेर तर्क गरिरहेको सुन्छु। कतिपय कोरोना नै छैन भन्ने समूहहरु पनि भेटिन्छन्। तर कोरोना संक्रमण बढिरहेको छ। मानिसहरुको ज्यान गइरहेको छ। यस्तो बेला हामी सजग हुनुपर्छ। कुन कुरा सत्य हो वा होइन भनेर छुट्टाउन आवश्यक छ। 

कोरोना संक्रमितमध्ये धेरैको स्वास्थ्य अवस्था सामान्य नै छ। तर हामीले अझैपनि हेलचक्राई गर्ने हो भने समस्या बढ्न सक्छ। अहिले कोरोनाको खोप नबनेको अवस्थामा हामीले चाहेको भन्दा फरक ढंगले जीवनयापन गर्ने अर्थात व्यवहारहरु बदल्न जरुरी छ। यही नै अहिलेको लागि कोरोनाबाट जोगिने उपाय हो। 

काठमाडौंमा कोराना संक्रमितको संख्या बढ्नुको पछाडि सरकार र जनता दुवैको कमजोरी छ। लकडाउन खुलेपछि बाहिरी जिल्लाबाट काठमाडौं भित्र्नेलाई त्यती कडाइका साथ अनुगमन गरिएन। ती व्यक्तिहरु समुदायमा नजिक हुने नै भए। उनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएपनि दैनिक ज्याला मजदुरी गरेपछि मात्र खान पाउने भएकाले त्यो सम्भव रहेन। यसरी उनीहरुबाट ग्राहक, ग्राहकबाट घर–घर कोरोना पुग्यो र त्यसकै नतिजा अहिले देखिएको हो। त्यहीबेला सरकारले अलि कडाइ गरेको वा आफैं पनि सजग बनेको भए यो अवस्था आउँदैन थियो। 

यस्तै सबैले जनस्वास्थ्यका मापदण्डहरु पालना नगरेको प्रष्टैसँग देख्न सकिन्छ। तसर्थ यो आगामी दिनमा कति फैलिन्छ वा फैलिँदैन भन्ने कुरा हाम्रै हातमा छ। 

डा. रबिन्द्र पाण्डे
जनस्वास्थ्य विद्

काठमाडौं उपत्यका भनेको ठुलो जनघनत्व भएको शहर हो। यहाँ कोरोना फैलियो भने नियन्त्रण गर्न गाह्रो हुन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौं। जसरी कोरोना नियन्त्रणका लागि कुनै पनि रणनिती अपनाइएन, त्यसले गर्दा काठमाडौंमा समुदायमा कोरोना फैलन पुगेको हो।

सुरुमा लकडाउन गरेपनि संक्रमणलाई नियन्त्रण गर्न सरकार चुक्यो। फेरि दोस्रो पटक सटडाउन ग¥यो। जबकी त्यो बेला काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेकै थियो। त्यसलाई हेरेर अहिले सरकारले विगतमा के कुरा चुक्यौँ त? भन्ने कुरालाई मनन गरेर निती बनाउने पर्ने हो। तर सरकार फेरि पहिलेको गल्ती दोहो¥याइ रहेको छ। 

लकडाउनकै समयमा मुख्य सडक र चोकमा सरकारले कडाइ गरेपनि भित्री गल्ली तथा बस्तीहरुमा खासै ध्यान दिएन। त्यसो नभएपछि त्यहाँका मानिसहरु भेला हुने, मर्निङवाक जानेलगायतका क्रियाकलाप एकदमै बढ्यो। यस्तै पछिल्लो समय सरकारी कार्यालयहरुमा पनि मानिसहरुको चाप निकै बढ्यो। सरकारले यस्ता कुराहरुमा ध्यान दिनु पथ्र्यो। यस्तै सर्वसाधारणले पनि जनस्वास्थ्यका मापदण्डहरुलाई हेलचक्राइ गरिरहेका छन्।

यतिमात्र नभइ अहिले सरकारले संक्रमितहरुको परिचय लुकाउने र संक्रमित आफूपनि केही नभएझै समुदायमा खुलेआम हिँड्नेसमेत गरेको पाइन्छ। साथै सरकारले होम आइसोलेसनलाई पनि व्यवस्थित गर्न सकेन। मानिसहरु अस्पतालको आइसोलेसनमा जान नचाहनुको एउटा प्रमुख कारण त्यहाँको व्यवस्थापन नै हो। 

सरकारले कम्तीमा संक्रमितलाई राम्रो खाने बस्ने व्यवस्था मिलाउन सकेको भए मानिसहरु अस्पतालको आइसोलेसनमा बस्थे। अस्पतालमा खाना पनि राम्रो छैन, फोहोर छ, धेरै मान्छे एकै ठाउँमा बस्नुपर्छ भन्ने जस्ता कुराले परिचय लुकाउने गरेको पाइएको छ। त्यसै कारण अहिले अन्जानमा वा जानेर धेरैमा कोरोना संक्रमण फैलिएको छ।

सरकारले एक हिसाबले कारोनाको सक्रिय संक्रमित २५ हजार नाघे बन्द गर्ने भनिएबाट सरकारसँग अब त्यती मानिसलाई मात्र उपचार गर्ने क्षमता रहेको सन्देश दिइसकेको छ । यस्तो अवस्थामा जनता आफै सजक भएर हिँड्नु पर्छ।

प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्