डा.केसीको समर्थनमा चिकित्सकद्वारा ओपीडी बहिष्कार
काठमाडौं, असोज २० : स्वास्थ्य सेवा सुधारका माग गर्दै २३ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्। उनीहरुले डा.केसीको...
काठमाडौं, असोज २० : स्वास्थ्य सेवा सुधारका माग गर्दै २३ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्। उनीहरुले डा.केसीको जीवनरक्षाको माग गर्दै ओपीडी बहिष्कार गरेका छन्।
डा.केसीको समर्थमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका हुन्। तीन दिनदेखि सरकारको ध्यानाकर्षण गरिरहेका उनीहरुले आजदेखि ओपीडी बहिष्कार गरेका हुन्।
आजै तीनै शिक्षण संस्थाका आवासीय चिकित्सकले संयुक्त प्रेस विज्ञप्ति जारी गरि ओपीडी नजाने बताएका छन्। उनीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
उनीहरुले कोरोना र इमर्जेन्सी सेवामा भने कुनै अवरोध गरेका छैनन्। ओपीडी सेवा बहिष्कार गरेर उनीहरु कालोपट्टी बाँधेर धर्नामा बसेका छन्।
उनीहरुले तत्काल वार्ता टोली गठन गरेर डा.केसीसँग वार्ता गर्न र उनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। तत्काल सरकारले पहल नगरे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्।
डा.केसी त्रिवि शिक्षण अस्पतालमा सत्याग्रहमा बसिरहेका छन्। उनको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ। उनलाई अक्सिजनको सपोर्टमा राखिएको छ।
भदौ २९ गते जुम्लाको चन्दननाथस्थित बाबिरा मष्टो मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका डा.केसीलाई स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको थियो। त्यसपछि उनी काठमाडौं आएका थिए। आज अनसनको २३ दिन पुगेको भएपनि सरकारले वास्ता गरेको छैन। वार्ताका लागि समेत पहल गरेको छैन।











