दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
लुम्बिनी नाममा सहमति भएपनि दाङलाई राजधानी बनाउने प्रस्तावमा भने विवाद छ। नेकपाले पक्षमा र कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे छ।
बुटवल, असोज २० : प्रदेश ५ को राजधानीका विषयमा आज प्रदेश सभामा मतदान हुँदै छ। सरकारले प्रस्ताव गरेको दाङको विपक्षमा मतदान गर्न कांग्रेस ह्वीप जारी गरेको छ।
आज बस्ने प्रदेश सभा बैठकले प्रदेश ५ को राजधानी र नामकरण गर्नेछ। प्रदेश सरकारले लुम्बिनी नाम र दाङ राजधानी राख्ने प्रस्ताव संसदमा पेश गरेको छ। यसको चर्को विरोध हुँदै आएको छ।
नामबारे सबै दल सहमत छन भने राजधानीका विषयमा विवाद रहेको छ। सत्तारुढ नेकपाले दाङका पक्षमा मतदान गर्न सोमबार नै ह्वीप जारी गरेको थियो। कांग्रेसले दाङका विपक्षमा मतदान गर्न आज ह्वीप जारी गरेको हो।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए। प्रसतावमाथि उठेका प्रश्नको सोमबार नै मन्त्री केसीले जवाफ दिइसकेका छन्। आज निर्णयार्थ प्रस्तुत हुने भएको छ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले दाङको विपक्षमा मतदान गर्ने निर्णय गरेको कांग्रेस नेता एवं प्रदेश ५ का सांसद वीरेन्द्रकुमार कनौडियाले बताए। नाम लुम्बिनी नै ठीक भएको र राजधानीका विषयमा मात्रै विपक्षमा मतदान गर्ने निर्णय भएको उनले बताए।
प्रदेश ५ को प्रदेश सभामा ८७ सांसद छन्। नाम र राजधानी तोक्न दुई तिहाई अर्थात ५८ सांसद चाहिन्छन्।
प्रदेश सभामा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्। तर, नेकपाका १४ सांसदले दाङ राजधानी बनाउने प्रस्तावमा असहमति जनाउँदै आएका छन्।
आज दिउसो १२ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।











