कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु
विराटनगर, असोज २० : कोरोना भाइरसको संक्रमणबाट विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा दुई जनाको मृत्यु भएको छ।आज बिहान उपचारका क्रममा मोरङको कानेपोखरी गाउँपालिका–६ का...
विराटनगर, असोज २० : कोरोना भाइरसको संक्रमणबाट विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा दुई जनाको मृत्यु भएको छ।
आज बिहान उपचारका क्रममा मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ।
कानेपोखरीका ५० वर्षीय पुरुषलाई ज्वरो आएपछि सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएपछि उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए।
उनलाई श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटमा राखेर उपचार थालिएको थियो। उनी क्यान्सरबाट पीडित रहेको दाहालले बताए।
त्यस्तै, रतुवामाईका ४५ वर्षीय पुरुषलाई ज्वरो, निमोनिया र टाइफाइड भएपछि असोज १३ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनको पनि अस्पताल भर्ना भएपछि स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो।
उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो। उनको उपचार गर्दागर्दै आज बिहान साढे २ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दाहालले बताए। उनी मधुमेहबाट पीडित थिए।











