Kathmandu Press

कांग्रेसका १० नेताले भने- प्रदेश ५ को राजधानी भालुवाङ नै उपयुक्त

काठमाडौं, असोज १९ : प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यसहित १० नेताहरुले  प्रदेश ५ को...
कांग्रेसका १० नेताले भने- प्रदेश ५ को राजधानी भालुवाङ नै उपयुक्त
पूर्वमन्त्री दीपक गिरी।

काठमाडौं, असोज १९ : प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यसहित १० नेताहरुले  प्रदेश ५ को राजधानी दाङको भालुवाङ नै सबैभन्दा उपयुक्त भएको बताएका छन्। 

प्रदेश राजधानीलाई लिएर कांग्रेसकै नेताहरु विभाजित भइरहेका बेला प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सिंचाइ मन्त्री दीपक गिरीसहित १० नेताहरुले सरकारले संसदमा पेश गरेको प्रदेश राजधानी र नामांकनको प्रस्तावलाई समर्थन जनाएका हुन्। 

सोमबार पूर्वमन्त्री गिरीसहित १० नेताले संयुक्त विज्ञप्ति जारी गरी सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक श्रोतको न्यायिक वितरण, जनमतको कदर र संघीयताको मर्म र भावना अनुसार प्रदेश ५ का सबैलाई सुविधाजनक तथा उपयुक्त स्थान दाङ देउखुरीको भालुवाङलाई राजधानी बनाउने प्रस्तावप्रति पूर्ण समर्थन रहेको जनाएका छन्।

उनीहरुले राजधानीको विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरुले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाएर जनतालाई उत्तेजित बनाउने काम गर्न उपयुक्त नहुने बताएका छन्। 

‘भालुवाङलाई प्रदेश पाँचको स्थायी राजधानी बनाउने प्रस्तावप्रति हाम्रो ऐक्यबद्धतासहित प्रदेश ५ को प्रदेशसभालले विवादरिहत तरिकाले यथाशीघ्र टुंग्याउने अपेक्षा गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ। 

सरकारले राजधानी र नामांकनबारे संसदमा पेश गरेको प्रस्तावको समर्थन गर्दै विज्ञप्ति जारी गर्नेहरुमा केन्द्रीय सदस्य गिरीसहित केन्द्रीय सदस्यहरु किशोरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, गोपाल दहित, योगेन्द्र चौधरी, मंगल प्रसाद थारु र कृष्ण किशोर घिमिरे रहेका छन्। 

यस्तै, नेपाली कांग्रेसका बर्दिया सभापति तथा संघीय सांसद सञ्जय गौतम र कांग्रेस रोल्पाका सभापति अमरसिह पुनलेले पनि सरकारको प्रस्तावको समर्थन गरेका छन्।

प्रदेश राजधानी बुटवलबाट सार्ने प्रस्तावको विरोधमा रुपन्देही कांग्रेस आन्दोलित बनेको छ भने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य चन्द्र भण्डारीले बुटवलकै पक्षमा अडान लिइरहेका छन्।

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: ००:४८ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्