प्रदेश ५ को राजधानी दाङलाई बनाउने पक्षमा मतदान गर्न नेकपाको ह्वीप
काठमाडौं, असोज १९ : प्रदेश ५ को नाम र राजधानीको पक्षमा मतदान गर्न नेकपा संसदीय दलले ह्वीप जारी गरेको छ। सोमबार बिहान बुटवलमा...
काठमाडौं, असोज १९ : प्रदेश ५ को नाम र राजधानीको पक्षमा मतदान गर्न नेकपा संसदीय दलले ह्वीप जारी गरेको छ। सोमबार बिहान बुटवलमा बसेको संसदीय दलको बैठकले ६० जना सांसदलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश पाँचका नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकालले बताए।
बैठकले बुटवललाई पर्यटकीय र आर्थिक राजधानी र राप्ती उपत्यकालाई प्रशासकीय राजधानी बनाउन मूख्यमन्त्री तथा प्रदेश पाँचका इन्जार्ज शंकर पोखरेलले ह्वीप जारी गरेको ढकालको भनाई छ। ‘हालको अस्थायी राजधानीलाई पर्यटकीय र आर्थिक राजधानीका रुपमा विकास गर्ने र राप्ती उपत्यकालाई प्रशासकीय राजधानी बनाउने उद्देश्य सहित प्रदेशसभामा दर्ता भएको प्रस्तावका पक्षमा मतदान गर्न उहाँले ह्वीप जारी गर्नुभयो, ’ ढकालले भने।
प्रदेशसभामा पेश भएको प्रस्तावबारे छलफल गर्न केहीबेरमा प्रदेशसभा बैठक बस्दैछ। गत शुक्रबार नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेपछि प्रदेश पाँचको राजधानी दाङको भालुवाङ बनाउने गरी प्रक्रिया सुरु भएको हो। नेकपा महासचिव विष्णु पौडेल भने यसको विपक्षमा छन्।











